माउतेको अनुभवमा धानिएको हात्तीको तालीम



सौराहा,  माउसँग क्रमशः अलग गराएर छावा हात्तीको चुनौतीपूर्ण तालीम शुरु हुन्छ । तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा बाँधेर शुरु हुने यो तालीमबारे सुन्नेलाई रमाइलो लाग्न सक्छ तर तालीम दिने माउते र लिने छावालाई चाहिँ यो कष्टप्रद हुन्छ ।

दाना, आहार र पानीसमेत कम दिई साँझ बिहान खवारीमा डोरीले छावाको घाँटीमा बाँधिन्छ । धेरै उभद्रो मच्याउन थाले नजीकै आगो बालेर छावाको रिस शान्त पारिन्छ । आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिन्छ ।

छावाका गुरु तिनै हात्ती चलाउने माउते र उनका माउहरु हुन् । माउते अधिकांश थारु जातिका छन् । छावालाई तालीम दिने यो कठिन तर रोमाञ्चक काममा स्थानीय चौधरी वर्षांैदेखि अभ्यस्त छन् । उनीहरुले कुनै विश्वविद्यालय वा प्रशिक्षण केन्द्रमा पढेर हात्तीसँग खेल्न थालेका होइनन् । त्यसो त माउतेका गुरु पनि तिनै हात्ती नै हुन्, जसले एकापसका भाषा र हाउभाउ बुझेर आफ्ना जीवन चलाइहेका छन् ।

जमीनमा पाइनेमध्ये सबैभन्दा ठूलो शरीर भएको जनावरलाई साक्षर मात्र भएका माउतेले कुशल प्रशिक्षक भई तालीम दिएर भनेअनुसार ठाउँमा डुलाउन सक्नु आफैँमा चुनौतीपूर्ण हो ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहामा हात्तीलाई नियमित तालीम दिइन्छ । केन्द्रका प्रमुख बुधन चौधरीले आफ्नो ३० वर्षे जागीरे जीवनमा आठवटा हात्तीलाई तालीम दिइसक्नुभएको छ । छावालाई काम लगाउन योग्य बनाउन र माउतेको भाषा बुझ्ने बनाउन तालीम दिइन्छ ।

तालीम नपाएका छावाले हात्तीसारका कर्मचारी र आगन्तुकलाई हानेर घाइते बनाउने डर हुन्छ । तालीम नदिएको छावा बिरामी पर्न गएमा उपचार गराउन समेत अप्ठ्यारो पर्छ । छावाको उमेर दुईदेखि चार वर्ष पुगेपछि तालीम दिइन्छ । प्रमुख चौधरीका अनुसार भन्नुभयो, “छावालाई बाँधेपछि टाउको र सुँडको प्रयोग गरी तालीम दिनेलाई हमला गर्न सक्दैन ।”

मौखिक तथा साङ्केतिक आदेश 

तालीमका क्रममा प्रायः छावाको अगाडिको दुवै खुट्टा डोरीले बाँधेर राखिन्छ । दिउँसोको समयमा तालीम दिइने छावाको घाँटीको डोरीमा दुवैतर्फ लामो डोरी जोडेर दुईटा अनुभवी र बलिया हात्तीलाई समात्न लगाइन्छ । पछाडि एक बलियो हात्तीलाई राखिन्छ । यसरी डोरी र तालीमप्राप्त हात्तीको सहायताले नियन्त्रणमा लिँदै अभ्यासका हिँडाइन्छ ।

छावाको घाँटीमा एक माउते बसेर ठूलो चौरमा लगेर दायाँबायाँ हिँडाउने, बसाउने, उठाउने, गरिन्छ । यसका लागि मौखिक तथा साङ्केतिक आदेश दिएर सिकाइन्छ । साँझमा आगोको लपेटोले तर्साउँदै छावाको शरीरमा चढ्ने, मालिस गर्नेजस्ता क्रियाकलाप गरिन्छ । ती छावालाई अन्य प्रकारका जनावर, मोटर र असामान्य आवाज तथा गन्धसँग नडराउन भनेर अभ्यस्त गराउन सडकतिर पनि लैजाने गरिन्छ ।

हालसम्म चारवटा हात्तीलाई तालीम दिएका माउते चतुरलाल चौधरीका अनुसार तालीमका क्रममा छावा हात्ती घाइतेसमेत हुन पुग्छन् । सामान्यतया एउटा छावालाई तालीम दिन २० दिनदेखि तीन महीनासम्म लाग्छ । यसपछि पनि छावाले माउतेबाट दिइने अन्य आदेश कामको सिलसिलामा सिक्दै जान्छन् । जुनसुकै जातिका माउते भए पनि हात्तीलाई स्थानीय थारु भाषामै तालीम दिइने र काममा लगाउने गरिन्छ ।

थारू भाषामा ‘अगत’ भनेपछि हिँड्छन् 

तीनवटा हात्तीलाई तालीम दिइसकेका केन्द्रका माउते सन्तलाल पाख्रिनले हात्तीलाई बसाउन ‘बैठ’, घुँडा खुम्च्याएर बसाउन ‘सरबैठ’, राम्रोसँग बाटो हेर भन्न ‘देख’, अगाडि हिँड्न ‘अगत’, टाउकोले धकेल्न ‘हिक’्, उठाएर मुखमा च्याप्न ‘उठासकल’, टाउको झुकाइ अगाडिको खुट्टा खुम्च्याउन ‘झुक’् शब्द प्रयोग गरिन्छ ।

यसैगरी, हात्तीलाई उठाउन ‘मैल’, सुताउन ‘सुत’्, पानी पिउने ‘छोप’, समातेर दबाउन ‘घरदाव’्, यता हिँड भन्न ‘फर्कि इभर’, छोड्नलाई ‘छि’, रोकिनलाई ‘र’, बोकी हिँड्नलाई ‘छेउ’, खानलाई ‘दहिर’ जस्ता भाषा प्रयोग हुन्छ ।

तालीम पूरा गरेपछि छावालाई बोका, कुखुरा, परेवाको बलि दिई देवी देवताको पूजा गर्ने प्रचलन छ । केन्द्रमा यस वर्ष तीन वटा छावालाई तालीम दिने तयारी छ । गत वर्ष दुई वटालाई तालीम दिइएको थियो । एशियाली संस्कृतिमा हात्तीलाई ज्ञानको प्रतीक मानिन्छ । यिनीहरूको स्मरणशक्ति र वुद्धिको क्षमता प्रायः ऐतिहासिक मानव ह्वेल र डल्फिन बराबर हुने मानिन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल हात्तीलाई दिइने यो परम्परागत तालीम प्रभावकारी भएको बताउनुहुन्छ । औपचारिक शिक्षा नलिए पनि माउतेले परम्परागत ज्ञानबाट हात्तीलाई तालीम दिने गरेको ढकालको भनाइ छ । यही तालीम पाएका हात्तीले तिनै माउतेका भाषा र सङ्केत बुझेर निकुञ्ज संरक्षण गस्तीदेखि पर्यटक डुलाउनेसम्म काम गर्दै आएका छन् । नवलपुर, चितवन, पर्सा, मकवानपुरका क्षेत्र गरी ९५२ वर्गकिलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

शिक्षाविद् रमाकान्त सापकोटा हात्तीलाई पढाउने नभएर तालीम दिने भएकाले यसका लागि औपचारिक शिक्षा नचाहिने बताउनुहुन्छ । केही वर्षअघि जापानको एक विश्वविद्यालयका पशु विज्ञान विषयका विद्यार्थीसँग सौराहामा भेट हुँदा उनीहरुले अध्ययन गरेअनुसार नेपाल, जापान र थाइल्याण्डका हात्तीको संज्ञानात्मक विकास फरकफरक भएको पाइएको आफूलाई जानकारी दिएको उहाँले बताउनुभयो ।

औपचारिक शिक्षा नलिए पनि यहाँका माउते दक्ष रहेकाले उनीहरुको ज्ञान, सीप र अनुभवको अबमूल्यन गर्न नहुने सापकोटाले बताउनुभयो । माउतेलाई थप शिक्षा दिएर हात्तीलाई परिस्कृत तालीम दिनुपर्ने संरक्षण क्षेत्रका जानकार बताउँछन् ।

चौध वर्ष पुगेपछि प्रजजन प्रक्रिया 

केन्द्रमा हाल दुई भाले, तीन पोथी र छ वटा छावा छन् । निकुञ्जभरिमा कूल ६० वटा सरकारी स्वामित्वका हात्ती छन् । हाल विश्वमा अफ्रिकन झाडीमा पाइने हात्ती, अफ्रिकन जङ्गलमा पाइने हात्ती र एशियन हात्ती गरी तीन प्रकारका हात्ती अस्तित्वमा रहेको पाइन्छ । साधारणतया एउटा छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम (२६० पाउन्ड) तौलको हुन्छ ।

एशियन हात्ती प्रौढ हात्ती अवस्थामा पाँच टन तौलका हुन्छन् । यिनीहरुको उचाइ तीन मिटर र लम्बाइ ६ दशमलव ४ मिटर हुन्छ । हात्तीको औषत आयु ५० देखि ७० वर्षको हुन्छ । अहिलेसम्मको अभिलेखअनुसार ८२ वर्षसम्म पनि बाँचेको छ । हात्ती १४ देखि १५ वर्षमा पुगेपछि उनीहरुको प्रजनन (यौन) प्रक्रियामा संलग्न हुन्छन् । गर्भिणी हात्तीलाई केन्द्रमा ल्याउने गरिन्छ ।

छावा हेर्न भीड 

बाइसदेखि चौबीस महीनासम्म गर्भमा बसेर जन्मिने हात्तीको बच्चा हेर्न रत्ननगर नगरपालिकाको सौराहा खोरसोरस्थित उक्त केन्द्रमा यतिबेला स्वदेशी र विदेशी पर्यटकको भीड लाग्ने गरेको छ ।

केन्द्रका प्रमुख चौधरीका अनुसार गत असोज २३ गते पूजाकली हात्ती र यही कात्तिक १६ गते गणेशकली हात्तीले बच्चा जन्माएका थिए । न्वारन गर्न तयारी गरिएको गणेशकलीको छावा बाँधेर राखिएको माउको वरिपरि खेलिरहेको हेर्न र परबाट तस्वीर लिएर पर्यटक रमाउँछन् ।

केन्द्रमा यसअघिका ३० देखि ३५ महीनाका चार वटा बच्चा पनि छन् । छावा जन्मिएको दिन २०० भन्दा बढी पर्यटक केन्द्र आउने गरेको चौधरीले बताउनुभयो । त्यसपछिका दिनमा पनि १०० पर्यटक नघटेको उहाँको भनाइ छ । केन्द्र प्रवेशका नेपालीले रु १० र विदेशीले रु ५० तिरेर टिकट काट्नुपर्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म छावा हेर्न आउने गरेका छन् । आउनेमध्ये विदेशीभन्दा नेपाली नै बढी हुन्छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्