महको दाल भात तरकारी शनिबारबाट



मह सञ्चारको प्रस्तुति र अभिनेता तथा निर्माता किरण केसीको निर्माणमा बन्ने फिल्म दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ।

मह जोडीमा ‘ह’का रुपमा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यको जन्मदिनको दिन मंगलबार राजधानीको कमलादी गणेश मन्दिरमा पूजा गर्दै ज्योतिषीय साइतअनुसार बिहान ८ बजेर ३१ मिनेटमा शुभ मुहूर्त गरिएको हो।
कार्यक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, मह जोडीका ‘म’ मदनकृष्ण श्रेष्ठका साथमा राजाराम पौडेल, दीपकराज गिरी, जितु नेपाल, सन्दीप क्षेत्रीलगायतका कलकारको सहभागिता रहेको थियो। समारोहमा मुख्य नायक पुष्पल खड्का र नायिका आँचल शर्माले मुहूर्त सट दिएका थिए। कमेडी जनारामा बन्ने फिल्मले दाल–भात–तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हास्यरसमा प्रस्तुत गर्ने निर्देशक सुदन केसीले जानकारी गराए। सुदन अभिनेता तथा निर्माता किरण केसीका छोरा हुन्।

छोरा भएकै कारणले सुदनलाई निर्देशनको जिम्मा नदिएको किरणले बताए। फिल्मलाई ५० दिन लगाएर खिच्ने उनले जानकारी गराएका छन्। फिल्मका लेखक हरिवंश आचार्यले सामाजिक कथावस्तुलाई हँस्यरसमा प्रस्तुत गर्न लागेको बताए। नायक पुष्पल खड्काले यो टिमसँग जोडिन पाउँदा आफू उत्साहित रहेको सुनाए।

नायिका आँचल शर्माले आफूले मह सञ्चारको शत्रु गतेमा खेल्न पाउनु नै भाग्यको कुरा भएको र फेरि पनि यही टिमसँग काम गर्न पाएकामा खुसी व्यक्त गरिन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, वर्षा राउत, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गर्नेछन्।

वैशाख १३ गतेबाट रिलिज हुने फिल्म शनिबारदेखि सुटिङ प्mलोरमा जाँदै छ। फिल्ममा समावेश ३ गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्।

प्रतिक्रिया दिनुहोस्