नेपालकाे ओलम्पिकअन्तर्गत पहिलो चरण पार



काठमाडौं, (नेस)
नेपाली महिला फुटबल टोलीले सन् २०२० मा जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक गेम्सको महिला फुटबलअन्तर्गत एएफसीको पहिलो छनोट चरण पार गरेको छ ।

म्यानमाराको यांगोनस्थित थुनुवा रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेससँग १–१ बराबरी खेलेको थियो । सो छनोट चरणमा नेपालले तीनै खेलमा एउटै नतिजा बेहोरेर पनि दोस्रो चरण छनोटमा स्थान सुरक्षित गरेको हो । नेपालकी कप्तान निरु थापाले १७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । तर दोस्रो हाफको इन्जुरी समयमा बंगलादेसकी अखि खातुनले गोल गरेपछि नेपालले बराबरीमै चित्त बुझाउनु परेको थियो ।

यसअघि नेपालले भारत र म्यानमारसँग पनि १–१ बराबरी खेलेको थियो । नेपाल ३ अंकसहित सो समूहमा तेस्रो स्थानमा रहे पनि दोस्रो चरण छनोटमा पुगेको छ । उत्कृष्ट दुई तेस्रो स्थानमा रहने टोलीमा नेपाल परेकोले छनोट भएको हो । नेपालको महिला फुटबल टोलीले पहिलो पटक ओलम्पिकमा सहभागि हुन छनोट प्रतियोगितामा सहभागिता जनाएको छ । यो समूहबाट म्यानमार र भारत पनि छनोट भएका छन् । १२ टोली सहभागिता हुने दोस्रो चरणका छनोट प्रतियोगिता अप्रिलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्