थिमिमा मेयर कप चेस हुने



भक्तपुर,(नेस) ।
मध्यपुरथिमि नगरपालिकामा पहिलोपटक राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता आयोजना हुने भएको छ । मध्यपुरथिमि नगरपालिका–४ कार्यालयले आयोजना सोमबार गरेको पत्रकार सम्मेलनमा मध्यपुरथिमि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले प्रतियोगीता गर्न लागिएको जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा खेलबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले आगामी मङ्सिर ४ देखि ८ गतेसम्म मध्यपुरमा प्रतियोगिता आयोजना हुने बताउनुभयो ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका र नेपाल च्याम्पियन भइसकेका १० जना राष्ट्रिय खेलाडीसहित देशभरबाट १ सय ५० जना खेलाडीको सहभागिता हुने जनाइयो । प्रतियोगितामा कूल रु ६ लाख ५० हजार खर्च हुनेमध्ये वडा कार्यालयले रु पाँच लाख र बाँकी खर्च मध्यपुर चेस क्लबले व्यहोर्नेछ ।

मध्यपुरथिमिको ऐतिहासिक दुुई पोखरी भन्ने स्थानमा हुने प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई नगद क्रमशः रु ५० हजार, ३५ हजार र २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी दिँदै श्रेष्ठले विभिन्न ३० विजेता खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले प्रवेश शुल्क मध्यपुरथिमिका बासिन्दा र विद्यार्थी एवं महिला खेलाडीलाई रु ५ सय, भक्तपुरकालाई रु ८ सय, काठमाडौँ र ललितपुरलाई रु १ हजार तथा उपत्यका बाहिरकालाई १५ सय रुपियाँ लाग्नेछ । तर नेपाल च्याम्पियनलाई निःशुल्क व्यवस्था गरिएको र उपत्यकाबाहिरका खेलाडीलाई बस्ने व्यवस्था आयोजकले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्