आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन



पुष्कर बुढाथोकी
भक्तपुर । नेपाली कांग्रेसका प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले अब बन्ने पार्टीको नीतिका सम्बन्धमा महत्पूर्ण सुझाव दिका छन् ।

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति अन्तर्गत आर्थिक नीति मस्यौदा समितिले आयोजना गरेको पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन कार्यक्रममा बोल्ने बत्ताहरुले बीपी कोइरालाले प्रतिवादन गरेको समाजवादी आर्थिक नीति अहिले पनि उत्तीकै सान्दर्भिक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा आर्थिक सुझाब मस्यौदा समितिका संयोजक डा प्रकाशशरण महतले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिंदै वर्तमान सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखी आर्थिक नीतिलाई मात्र जोड दिएको आरोप लगाउनुभयो ।

उहाँले वर्तमान अवस्थामा देशमा १० प्रतिशत आर्थिक वृद्धिदर पुग्नुपर्नेमा छ प्रतिशत पुग्न पनि मुस्किल भएको, विदेशी लगानी घट्दै गएको र स्वदेशी पूँजी विदेश पलायन हुँदै गएको बताउनुभयो ।

बैंकको व्याजदर र महङ्गी बढ्दै गएको बताउँदै डा.महतले नेपालमा उद्योग, व्यवसाय र कलकारखानामा वृद्धि नहुँदा रोजगारीको अवसर सिर्जना गर्न नसकिएकोले अबको आर्थिक नीतिले यसतर्फ जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

केन्द्रीय सदस्य तथा आर्थिक सुझाब मस्यौदा समितिका सदस्य शिबप्रसाद हुमागाईंले काङ्ग्रेसको नेतृत्वमा शासन सत्ता आएपछि आर्थिक विकासका लागि चाल्नुपर्ने कदम कस्तो हुनुपर्छ, समृद्धिका लागि के कसरी जानुपर्छ भन्नेबारेमा स्पष्टरुपमा सहभागीले सुझाव दिएको बताउनुभयो ।प्राप्त सुझावलाई महासमितिमा र पार्टीको केन्द्रीय समितिमा छलफल गरी निष्कर्षमा पुरयाउने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद बहादुर तामाङ्गले कांग्रेसले मुलुकको स्थायी प्रकारको भौतिक पुर्वाधार विकासको गुरु योजना तयार पार्नुपर्ने बताउँदै त्यो तयार नहुँदा कामको भद्रगोल भएको बिचार ब्यक्त गर्नुभयो ।

३ नं प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले प्रदेश सरकार आर्थिक अधिकार नपाउँदा कुपोषण लागेको बच्चा जस्तो भएको बताउँदै अबको कांग्रेसको आर्थिक नीतिले संघीयता बलियो बनाउने गरी अर्थिक नीति ल्याएर जनतालाई उत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सिन्धुपाल्चोकका पार्टी सभापति बिकास लामाले खुल्ला अर्थनीतिलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिंदै रिमीट्यान्सलाई उद्यममा जोड्नेतर्फ ध्यान दिनुपर्ने सुझाब दिनुभयो ।

दोलखा जिल्ला सभापति रुद्रबहादुर खड्काले लगानी बढाउन सुरक्षाको ग्यारेण्टी गरिनुपर्नेमा जोड दिनुभयो भने प्रदेश सांसद छिरीङ्ग दोर्जे लामाले अहिले बिचौलियाले मात्र लाभ लिएको भन्दै उत्पादक,बितरक र उपभोक्ता तीनै पक्षलाई लाभ हुने गरी आर्थिक नीति बनाउनुपर्ने र दिगो बिकासमा लाग्नुपर्ने बताउनुभयो ।

काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलगायतले पार्टीभित्रको अर्थनीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो भने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले अर्थनीति दोहोरो हुनु नहुने भन्दै दोहोरो कर नीति ठिक नभएको र अझ राज्यका तीनै तहले कर लगाउदा जनतालाई मार परेको बताउनुभयो ।

प्रदेश सांसद राधा घलेले सरकारलाई बिधेयक र कानुन बनाउँदै बाँकी ४ बर्ष बित्ने देखिएको बताउँदै प्रदेशमा के कार्यक्रम ल्याउने भन्नेमा सरकारसँग स्पष्ट दृष्टिकोण नभएको र सरकार अलमलमा रहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, पार्टीका कर्णाली प्रदेशका संसदीय दलका नेता समेत रहेका जीवनबहादुर शाही, गोबिन्द भट्टराई,अर्जुन जोशी, विश्लेषक अच्युत वाग्ले, लगायतले अब बन्ने काङ्ग्रेसको आर्थिक नीति परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र सांसद गरी ३७ जनाले आआफ्नो धारणा राखेका थिए ।

मस्यौदा समितिका सदस्य हुमागाईंले कार्यक्रममा कांग्रेस सरकारमा रहँदा लागु भएको आर्थिक नीति र सरकारको अहिलेको आर्थिक नीतिको गंभीर समीक्षा गरिएको बताउनुभयो ।उहाँले सुझाब संकलन कार्यक्रममा बत्ताहरुले अहिले संघ ,प्रदेश र स्थानीय सरकारबीच आर्थिक नीतिका सम्बन्धमा द्धन्द्ध भैरहेको सन्र्भमा अब पार्टीले खेल्ने भूमिका बारेमा समेत महत्वपुर्ण सुझाब दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्