मालिया र सासा दुवै आईभीएफबाट जन्मेका हुन् ः मिसेल ओबामा



सिकागो, (एजेन्सी)
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले २० वर्षअगाडि गर्भपात गर्नुपरेको बेला आफू अत्यन्त निरास भएको बताएकी छिन्। आफ्ना दुई छोरी मालिया र सासाको जन्मका लागि उनले इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) को सहारा लिनुपरेको उनले खुलासा गरेकी छिन्।

मिसेल ओबामाका किताब ‘बिकमिंग’ नोभेम्बर १३ मा विमोचन हुँदै छ। ४ सय २६ पृष्ठको आफ्नो पुस्तकमा मिसेलले ≈वाइट हाउसमा ८ वर्ष बस्दा आफूले अनुभव गरेका सबै अनुभवको उल्लेख गरेकी छिन्। तीबाहेक उनले आफ्नो जिन्दगीसँग जोडिएका कैयौं व्यक्तिगत घटनालाई पनि किताबमा समावेश गरेकी छिन्, जुन अहिलेसम्म सार्वजनिक भएका थिएनन्।

अमेरिकी च्यानल एबीसीलाई दिएको अन्तरवार्तामा उनले भनिन्– म असफल भइसकेको छु भन्ने मलाई लागेको थियो, किनभने गर्भपात कति सामान्य कुरा हो भन्ने मलाई थाहा थिएन। म यस विषयमा धेरैसँग कुरा नै गर्दिनथें। सासा र मालियाको जन्मका लागि उनलाई आईभीएफको सहारा लिनुपरेको ५४ वर्षीय मिसेलले बताइन्। अहिले सासा १७ वर्ष र मालिया २० वर्ष पुगेका छन्।

पूर्ववकिल र अस्पतालको प्रशासक रहेकी मिसेल ओबामाले आफ्नो किताबमा लेखेकी छिन्– ‘उनी लगातार गर्भधारण गर्ने प्रयासमा थिइन्, तर त्यस्तो हुन सकिरहेको थिएन। यस क्रममा एकदिन उनी र उनका पति पूर्वराष्ट्रपति बाराक ओबामाले गर्भधारण परीक्षण गराए र त्यो पोजिटिभ आयो। त्यसपछि उनीहरु दुवै खुसी थिए, तर दुई हप्तामै मिसेलले गर्भपातबाट गुज्रनुपर्यो।

करिब ३४ वर्ष हुँदा आफूलाई ‘बायोलोजिकल क्लक साँचो हो र अन्डा सीमित मात्रामा बन्छ’ भन्ने लागेको उनले बताइन्। त्यसपछि आफू आईभीएफ प्रविधि अपनाउने निर्णय लिएको उनले बताइन्। आफ्नो संस्मरणमा उनले आफ्नो जीवनका विषयमा खुलेरै लेखेकी छिन्। उनले कसरी ओबामासँग प्रेम भयो भन्ने लेखेकी छिन्। सिकागोको गर्मीको त्यो रातको स्मरण गर्दै मिसेलले लखेकी छिन्– ‘जब मैले ओबामाका बारेमा सोच्न थालें र महसुस गर्न थालें, म ती भावनामा बग्दै र डुब्दै गएँ। यो सबै पूर्ण सन्तुष्टि, विस्मय र कृतज्ञताको भाव थियो।’

ट्रम्पलाई माफी हुँदैन

उक्त पुस्तकमा मिसेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका पति बाराक ओबामाविरुद्ध फैलाएको ‘झुठा कुरा’ का लागि कहिल्यै माफ नगर्ने लेखेकी छिन्। मिसेल विशेष गरी ट्रम्पका तर्फबाट ओबामाको जन्मस्थानलाई लिएर फैलाएको झुठलाई उनीमाथि आक्रमक बनेकी हुन्।

सन् २०१६ मा राष्ट्रपति चुनावका क्रममा ट्रम्पले भनेका थिए– ‘ओबामा अमेरिकामा जन्मेकै होइन।’ ट्रम्पको उक्त टिप्पणीले उनलाई अत्यन्तै अप्ठ्यारो पारेको थियो र यो दाबीका लागि ट्रम्पलाई आफूले कहिल्यै माफ नगर्ने किताबमा उल्लेख गरेकी छिन्। मिसेलले यसका लागि जेनोफोबिया शब्द प्रयोग गरेकी छिन्।

‘यो सबै नै पागलपन र स्वार्थका भावनाले भरिएको थियो। वास्तवमा यसमा कहीं न कहीं कट्टरता र जेनोफोबिया लुकेको थियो’, मिसेलले आफ्नो पुस्तकमा लेखेकी छिन्– ‘कुनै बौलाह बन्दुक लिई वासिङ्टन प्रवेश गरेको भए के हुन्थ्यो? कसैले हाम्रा छोरीहरुलाई पछ्याएको भए के हुन्थ्यो? डोनाल्ड ट्रम्पको लापरबाहीपूर्ण बयानले मेरो परिवारको सुरक्षालाई जोखिममा पारेको थियो र यसका लागि म उनलाई कहिल्यै माफ गर्दिन।’

प्रतिक्रिया दिनुहोस्