निर्मलाको हत्यारा पत्ता नलागेसम्म यज्ञराज दम्पती धर्ना बस्ने



काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको अहिलेसम्म पनि हत्यारा पत्ता लागेको छैन् ।

छोरीको हत्या गर्ने ब्यक्ति पहिचान गर्न भन्दै साढे तीन महिनादेखि निर्मलाका बुवा आमा सरकारको बाटो कुरेर बसिरहेका छन् । लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएपछि छोरीको हत्यारा खोजी गर्न दबाव दिनका लागि निर्मलाका आमाबुवा आजदेखि अनिश्चितकालीन धर्नामा बस्ने भएका छन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरअगाडि धर्ना बस्ने निर्णयमा पुगेका हुन् ।

गत साउन ११ गते निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा घरनजिकै उखुबारीमा शव भेटिएको थियो । त्यसयता विभिन्न प्रकारका छानबिन समिति बने पनि बलात्कारी एवं हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

निर्मलाका बुवा यज्ञराज पन्तले दिएको पछिल्लो एक साताको अल्टिमेटममा पनि दोषी पत्ता नलागेपछि आज बिहान ११ बजेदेखि निर्मलाको परिवार धर्ना बस्ने भएको हो । उनले छोरीको हत्यारा पत्ता नलागेसम्म प्रशासन कार्यालय अगाडि धर्ना बसिरहने बताएका छन् ।

उनले छोरीको हत्यारा पत्ता लगाउन प्रहरीले सुरुआतदेखि नै लापरबाही गरेको र अपराधी जोगाउन प्रमाणसमेत नष्ट गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्