महिला विश्वकप २०१९ को एक लाख ५० हजार टिकट बिक्री



काठमाडाैं । महिला विश्वकप २०१९ को एक लाख ५० हजार टिकट बिक्री

सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको हो ।

फिफाले दिएको जानकारीअनुसार टिकट किन्नेमध्ये सबैभन्दा धेरै फ्रान्स र बेलायतका रहेका छन् ।

प्रतियोगिताका लागि दश लाखभन्दा बढी टिकट बिक्री गर्न सकिने फिफाको अनुमान छ । टिकटसम्बन्धी नौवटा प्याकजे बनाइएको फिफाले जनाएको छ । व्यक्तिगत टिकट भने यही आउँदो डिसेम्बर २३ देखि बिक्री शुरु हुनेछ ।

प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । ग्रेनोबल, ले हाभ्रे, लिओन, मोन्टपेल्लिर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सिन्नजमा खेलहरू हुने भएका छन् ।

सेमिफाइनल र फाइनल खेल लियोनमा गर्ने तालिका बनाइएको छ । ती खेलका लागि झन्डै २२ हजारभन्दा बढी प्याकेज तीन महिनाका लागि बिक्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्