टेलिभिजनमा मुन्द्रेको कमेडी क्लब



नेपाल टेलिभिजनको लोकप्रिय हास्य टेलिसिरियल जिरे खुर्सानीबाट मुन्द्रेको नामले दर्शकमाझ छुट्टै पहिचकान बनाएका हास्य कलाकार जितु नेपाल आफ्नो नयाँ कार्यक्रम मुन्द्रेको कमेडी क्लब लिएर नेपाल टेलिभिजनमा आएका छन्।

जितु सोमबारदेखि नेपाल टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममा सञ्चालक रहेका छन्। पहिलो शृङ्खलामा दीपकराज गिरी अतिथि बनेका थिए। कार्यक्रममा जितुलाई कलाकारहरू राजाराम पौडेल र दीपाश्री निरौला पनि सहभागी थिए। राजाराम र दीपाश्रीले जितुलाई हरेक शृङ्खलामा साथ दिनेछन् भने फुलन्देकी आमा उमेश राई र राजेन्द्र नेपालीको पनि प्रस्तुती रहनेछ। कि एडभर्टाइजिङले पहिलेदेखि आफूलाई यस्तो खालको कार्यक्रम गर्न प्रस्ताव गरेको र सबै तालमेल मिलेका कारण आफूले तिहारको कोसेलीका रूपमा आफूले यो कार्यक्रम लिएर आएको बताए।

‘म शुरूमा टेलिभिजनबाट नै आएको कलाकार भएकाले मलाई टेलिभिजनमा हेर्नुहुने दर्शकले खोजिरहनुभएको पाएँ। त्यसकारण पनि उहाँहरूको लागि स्पेसल्ली यो कार्यक्रम ल्याएको हुँ स्टयान्ड अप कमेडीमा समेत नाम कमाएका जितुले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘यसमा हामी एउटै स्टेजमा विभिन्न कलाकारको साथमा अतिथि ल्याएर कमेडी गर्छौं।’ मुन्द्रेको कमेडी क्लब नेपाली मौलिकतामा आधारित कार्यक्रमका रूपमा अगाडि बढ्ने जितुले बताए। ‘धेरैले कपिल शर्मा शो जस्तै हो भनेका छन्। त्यसबाट प्रभावित त हो तर त्यस्तै वा फ्रेन्चाइज भने होइन। कपिलको शो हेर्नेहरूले त्यो मानसिकतामा त्यस्तैजस्तो लागे पनि हामीले पूर्णमैलिकता समावेश गरेका छौँ’ –जितुले भने।

जितु पछिल्लो समयमा फिल्ममा छाइरहेका छन्। उनी र उनका सहकर्मी हास्य कलाकारहरूको निर्माणमा बन्दै आएको वडा नम्बर छदेखि छक्का पञ्जा सिरिजबाट समेत जितुले क्रेज कमाउँदै आएका छन्। जितुले मुन्द्रेको कमेडी क्लबको पहिलो संस्करणबाट पाएको प्रतिक्रिया हेर्दा यो शोले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। ‘सबैको साथ, सहयोग, आँट, भरोसा, हौसला, उत्साह, ताली र गाली पाउँछु भन्नेमा विश्वस्त छु। ‘यो क्लब सम्पूर्ण हास्यकलाकार, चलचित्रकर्मीका साथै ३ करोड नेपालीहरूको हो,’ जितुको भनाइ छ– ‘हामीले जति गर्न सक्यौंँ त्यति गरेका छौँ। करोडौंका विदेशी कार्यक्रमसंग तुलना गरेर हेर्दा त कसैको चित्त बुझाउन नसकिएला। तर नेपाली भएर नेपाली मनले हेर्नेहरूको चित्त अवश्य बुझाउने छौं।’

प्रतिक्रिया दिनुहोस्