हामीले कहिले पाउने विषयगत शिक्षक ?



उदयपुर जिल्लाको पहाडी क्षेत्रका अधिकांश सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको जिल्ला शिक्षा एकाइ समितिले बताउँदै आए पनि यहाँ विषयगत शिक्षक पुग्न सकेका छैनन् ।

अहिले पनि ताप्ली गाउँपालिका, लिङचुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकाका झन्डै २५० विद्यालयमा गणित, नेपाली, अङ्ग्रेजी तथा विज्ञान विषय पठनपाठन गराउने शिक्षकको अभाव छ । मुख्य पहुँच भएका विषयगत शिक्षक नगरपालिका केन्द्रित र शहरी क्षेत्रका विद्यालय केन्द्रित हुने गरेको र शिक्षकको सबै दरबन्दी शहरकेन्द्रित हुने गरेपछि ग्रामीण भेगमा अहिले झन्डै ३ सय विषयगत शिक्षकको अभाव रहेको बताइन्छ ।

जिल्लाका आधारभूत विद्यालय १ देखि ५ कक्षासम्ममा मात्र अहिले झन्डै ३९ हजार विद्यार्थी अध्ययन गर्दै आएको भए पनि ७ सय मात्र आधारभूत तहमा स्थायी शिक्षक रहेका छन् । कक्षा ६ देखि ८ सम्ममा स्थायी शिक्षक १८२ रहेका छन् भने बाँकी २४२ अनुदान र राहत दरबन्दीमा रहेका शिक्षा एकाइ समिति बताउँछ । यता कक्षा ९ र १० मा स्थायी शिक्षक १२९ छन् भने बाँकी १४६ अनुदान र राहत दरबन्दीमा रहँदै आएका छन् ।

विषयगत शिक्षक अभावका कारण पहाडी विद्यालय वा दुर्गम क्षेत्रमा एउटै विषयका शिक्षकले चारवटासम्म विषय हेर्न बाध्य छन् । प्रत्येक वर्ष एसईई परीक्षामा प्रगति राम्रो नहुनुको पछाडिको मुख्य कारण भनेको विषयगत शिक्षक अभाव नै रहेको देखिन्छ । ग्रामीण भेगका विद्यालयमा विषयगत शिक्षक नियुक्ति गरेर दरबन्दी पूर्ति नगरेसम्म र मन्त्रालयबाट विषयगत शिक्षकको दरबन्दी पूर्ति नगरेसम्म विद्यार्थीको पठनपाठन सुधार हुनसक्ने अवस्था छैन । यस विषयमा मन्त्रालयको ध्यान जाओस् ।
– समीर भण्डारी, उदयपुर (अभिभावक)

प्रतिक्रिया दिनुहोस्