सीमभञ्ज्याङ–भीमफेदी केवलकार अध्ययन



हेटौंडा,(नेस) ।
उत्तरी मकवानपुर थाहानगरको वडा नम्बर–४ मा पर्ने सीमभञ्ज्याङदेखि भीमफेदीसम्म जोड्ने गरी केवलकार सञ्चालनबारे सम्भाव्यता अध्ययन थालिएको छ ।

शनिबार नगरप्रमुख लवशेर बिष्ट र उपप्रमुख खड्ग गोपालीलगायतले केही विज्ञसहित स्थलगत अवलोकन गर्नुभएको हो । नगरपालिका, प्रदेश सरकार र नागरिकको संयुक्त लगानीमा करिब ३ सयदेखि ५ सय करोड खर्चिएर केवलकार सञ्चालनको प्रयास थालिएको हो । शनिबार ड्रोनको सहायताले दुरीमापन गरिएको नगरप्रमुख बिष्टले बताउनुभयो ।

सीमभञ्ज्याङदेखि भीमफेदीको बाटोले छुने कुनै स्थानसम्म केवलकार जोडिनेछ । केवलकार करिब साढे ३ किमी लामो हुने प्रारम्भिक अनुमान छ । केवलकारको संरचनाभित्र होटलहरु, पर्यटन पार्क, सभागृहलगायत संरचना पनि पर्नेछन् ।

काठमाडौंतिरबाट विभिन्न मार्गहुँदै अन्य मुलुकका पर्यटक सहजै रमाइलो वातावरणमा रमाउन थाहानगर जानसक्ने अवस्था रहे पनि भारतीय पर्यटकलाई आकर्षित गर्न उक्त केवलकार महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य घोषणा गर्दा मकवानपुरमा दामन र इन्द्रसरोवरको मैत्रीपार्क फाखेल परेका छन् । मकवानपुरमा दुवै पर्यटकीय गन्तव्य उत्तरी मकवानपुरकै हुन् । विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यमा मकवानपुरगढीलाई समावेश गरिएको छ ।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रुपमा मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्