छाडा चौपाया व्यवस्थापनः करोडौं खर्च, उपलब्धि शून्य !



मनोज भट्ट, कञ्चनपुर । छाडा चौपायाका कारण कञ्चनपुरका भीमदत्त लगायत शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाहरु दिनप्रतिदिन कुरुप बन्दै गइरहेका छन् । जिल्लाका ९ ओटै स्थानिय तहहरु छाडा चौपाया नियन्त्रण गर्न नसक्दा कुरुप बन्दै गइरहेका हुन । राजमार्ग आसपासका स्थानिय तहले छाडा चौपाया नियन्त्रणका लागि करोडौंको बजेट विनियोजन गरेका छन् । तर पनि व्यवस्थापन हुन नसन्दा नगरिदा विनियोजित बजेट ‘बालुवामा पानी’ जस्तै भएको छ । चोक–चोकमा तथा सडक छेउमा व्यापार गर्ने व्यापारी छाडा पशु चौपायाका कारण हैरानी व्यहोर्न बाध्य छन् ।

‘कञ्चनपुरमा ७ नगरपालिका र २ गाँउपालिका भइसकेपछि हामीले थप सुन्दर होला भनेर सोचेका थियौँ’, बेदकोट, बगौंन चन्द्र भण्डारीले भन्नुभयो– ‘पशुचौपायाका गोबरका कारण सहरहरु र राजमार्ग क्षेत्र दुर्गन्धित हुँदै गइरहेको छ, स्थानिय निकायहरुले चौपाँया व्यवस्थापन गर्छौ भनी करोडौंको बजेट मात्र कुम्ल्याइरहेका छन।’

छाडा चौपाया व्यवस्थित गर्न नसक्दा सडक छेउछाउका व्यापारी, सवारी चालक, पैदल यात्रुमात्रै होइनन् रिक्सा र टाँगा चालकलाई पनि सास्ती व्यहोर्नुपरेको छ । सवारी दुर्घटनामा समेत वृद्धि भएको छ । ‘छाडा पशु चौपायका कारण पैदल हिँड्न समस्या भएको छ’, भीनपा –४ की सन्तोषी साउद ऐरीले भन्नुभयो– ‘छाडा पशुका कारण कञ्चनपुरकै सौन्दर्य बिग्रिरहेको छ ।’

पैदल यात्रुलाई मात्रै होइन कञ्चनपुरको राजमार्ग क्षेत्र र महेन्द्रनगर बजारमा सवारी साधन चलाउने चालकलाईसमेत छाडा पशुले सताउने गरेका छन् । ‘बीचबाटोमै आएर सुत्दिन्छन, सधैँजसो सवारी दुर्घटनाको खतरा रहन्छ,’ महेन्द्रनगर –नेपालगञ्ज सडकखण्डमा माइक्रोबस चलाउँदै आउनु भएका हरिस भट्टले भन्नुभयो– ‘न प्रहरीले हटाएको देख्छु, न नगरपालिकाले नै ।’

उच्च आदालत दिपायल, महेन्द्रनगर इजलासले छाडा चौपाया नियन्त्रणका लागि यहि असोज १६ मा कञ्चनपुरका चार स्थानिय तहका नगर प्रमुखसहित २४ जना वडाध्यक्षका नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले आदेशमा राजमार्गलगायतका सार्वजनिक ठाउँका छाडा चौपायलाई व्यवस्थापन गर्न नसक्नुका कारण, नियन्त्रण र व्यवस्थापनका लागि कुनै कदम चालिएको छ, छैन ? सम्बन्धित क्षेत्रको सरसफाइको जिम्मा पाएको निकायले त्यसतर्फ कारबाही नगर्नुको कारण माग गरेको थियो ।

छाडा पशु चौपायाका कारण सडक छेउमा फलफूल र तरकारी पसल सन्चालन गर्दै आएका व्यापारीले सास्ती झेल्नुपरेको छ । महेन्द्रनगरमा विगत छ वर्षदेखि ठेलामा तरकारी बेच्दै आउनुभएका बिनोद बिष्टल छाडा पशुले तरकारी खाइदिँदा दैनिक घाटा व्यहोर्नु परिरहेको बताए । झण्डै २ करोड बजेट खर्च कञ्चनपुरको राजमार्ग आसपासका स्थानिय तहले छाडा चौपाया व्यवस्थापनका लागि डल्लो बजेट विनियोजन गरेका थिए ।

सबैभन्दा बढी भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा ७० लाख खर्च गरेको छ । महाकाली नगरपालिकाले गत आर्थिक वर्षमा १० लाख विनियोजन गरेको थियो । जसमा तीन लाख ५० हजार मात्रै खर्च गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै, शुक्लाफाँटा नगरपालिकाले विनियोजन गरेको ४० लाखमध्ये १५ लाख खर्च गरेको छ । राजमार्ग छेउछाउकै बेदकोटले ३६ लाख र कृष्णपुर नगरपालिकाले १८ लाख खर्च गरेको छ ।

कञ्चनपुरका भीमदत्त लगायत राजमार्ग क्षेत्रका नगरपालिकाहरुले कहिले छाडाचौपायाहरुमा विभिन्न किसिमका ट्याग लगाएर व्यवस्थापन गर्न खाजे जस्तो गरे भने कहिले ट्रकमा राखेर पहाडि जिल्लाहरुमा पठाए व्यवस्थापन तथा नियन्त्रण गर्न खोजे जस्तो गरेको मानव अधिकारकर्मी कृष्ण महराले बताए ।

नगरपालिकाहरुले छाडाचौपाया नियन्त्रणका लागि डल्लो बजेट लागाएर कान्जी हाउस निर्माण गरेपनि उक्त ठाउँमा चौपायाहरु लाई केहि दिन राखेर आहाराको राम्रो व्यवस्था नगर्दाखेरी चौपायाहरु मर्ने गरेको स्थानियहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्