निर्मला हत्या प्रकरण: कहाँ अल्झियो प्रहरी ? अबको अनुसन्धान कता ?



मनोज भट्ट, महेन्द्रनगर । निर्मला पन्तको हत्या भएको एक सय एक दिन समेत बितिसकेको छ । बलात्कारपछि हत्या भएको यति लामो बित्दासमेत घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । सरकारले पटकपटक हत्याराको नजिक पुगिएको, अनुसन्धान जारी राखिएको, हत्यारालाई जुनकुनै हालतमा पनि छिट्टै पक्राउ गर्ने बताइरहँदा व्यवहारमा भने अवस्था शून्यको अवस्थामा छ ।

जसकारण नेपाल प्रहरीको चौतर्फी आलोचना भइरहेको छ । घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन बुझाइसक्दा समेत घटनामा कुनै नयाँ तथ्य फेला पर्न सकेको छैन । अनुसन्धानमा खटिएका प्रहरी, छानबिन समितिका सदस्य हुन् या सरकार र सर्वधारणनै किन नहुन्स सबैसामु सुरुदेखिकै एउटै प्रश्न जिवित छ– आखिर निर्मलाको हत्या कसले गर्यो ? कञ्चनपुर प्रहरीले नै बेलैमा निर्मलाको खोजी नगरेको र प्रमाण नष्ट गर्ने काम गरेको भन्दै चौतर्फी आलोचना भयो ।

त्यसपछि सिआइबीबाट खटिएको डिएसपी अंगुर जिसीको टोलीले पनि नक्कली हत्यारालाई पक्राउ गरेर भिआइपी हत्यारा लुकाउन खोजेको आरोप लाग्यो । पछि डिएसपी जिसीलाई समेत निलम्बन गरेर सिआइबीका एसएसपी ठाकुर ज्ञवालीलाई अनुसन्धानका लागि पठाइयो । उनी बढुवा भएर डिआइजीसमेत भइसके । तर हत्याको ’क्लु’ फेला पर्न सकेको छैन ।

त्यसैगरी डिआइजी हुँदा अनुसन्धानको जिम्मेवारी पाएका धीरु बस्न्यात हाल एआइजी छन् । घटनास्थल पुगेरसमेत उनले अवलोकन गरे । बस्न्यातको टोलीले समेत कुनै तथ्य फेला पार्न सकेन । प्रहरीले अनुसन्धानमा कारबाही गरेको भन्दै सिफारिस गर्नुबाहेक अन्य कुरा पत्ता लगाउन सकेन । गृह मन्त्रालयका सहसचिव हरि मैनालीको टोलीले घटनामा प्रहरीको लापरबाही भएको बतायो ।

त्यहाँभन्दा बढी अहिलेसम्म केही बाहिर आउन सकेको छैन । प्रहरीले अहिलेसम्म तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दीलिपसिंह विष्ट र चक्र बडूको रगत संकलन गरी डिएनए परीक्षण गरेको छ । त्यसमा नेगेटिभ देखिएको थियो ।

अब शंका लागेर मात्रै पक्राउ गर्न सक्ने बाटो प्रहरीलाई छैन । निर्मला हत्याको प्रमाणको रुपमा अब एउटा मात्रै चिज बाँकी छ, डिएनए परीक्षण । अरु प्रमाण मेटिइसके र कतिपय त मेटाइए पनि । कञ्चनपुर बाट मंगलबार फेरि प्रहरीले ४ जनाको डिएनए परीक्षण गर्नका लागि रगत लिइएको छ । तर उनीहरुको नाम गोप्य राखिएको छ । शंका लागेजतिका व्यक्तिको डिएनए परीक्षण गर्नुबाहेक प्रहरीसामु अर्को विकल्प देखिँदैन ।

जसका कारण निर्मला हत्याकाण्डको अनुसन्धान जटिल मोडमा पुगेको एक प्रहरी अधिकारी बताउँछन् । उनले भने, ‘निर्मलाका हत्यारा पत्ता लाग्न सक्ने सम्भावना धेरै न्यून छ । ‘मैले बलात्कार गरेँ, मेरो डिएनए टेस्ट गर्नु भनेर अपराधी बसेका होलान् र ? घटनास्थल आसपासका मान्छेको डिएनए परीक्षणबाट अपराधी पत्ता लगाउन झन् गाह्रो छ ।’ यदि मुख्य अपराधी अहिलेसम्म निगरानीमा नआएको भए पनि अब डिएनए गर्ने भए भन्ने थाहा पाएपछि भाग्नसक्ने सम्भावना भएकाले अपराधी पत्ता लाग्न नसक्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्