रोजगारीको गतिलो स्रोत बन्यो झिनियाँ रोटीको व्यापार



कविराज नेपाल, पाल्पा

चामल पिसेर बनाएको पिठोलाई राम्ररी पकाएर साँचोमा राखेर घाममा सुकाई तयार गरिने सिन्कामरी अर्थात झिनियाँ रोटीको व्यापार पछिल्लो समयमा बढेको छ। प्रायः गरी हरेक पूजाआजा, विवाह ब्रतबन्ध, भोज भतेरमा नेवारी समुदायमा झिनियाँ रोटी अनिवार्य मानिँदै आएको छ। पछिल्लो समयमा अरू समुदायमा पनि उपयोग गर्न थालेपछि यसको माग र व्यापार बढेको हो। तिहारको आगमनसँगै यसको व्यापार झनै बढेको व्यापारीहरूले बताएका छन्।

महिलाका लागि झिनियाँ रोटी व्यावसायिक माध्यम पनि बनेको छ। यसलाई व्यापारिक हिसाबले चाडपर्व केन्द्रित गरी स्थानीय महिलाले व्यावसायिक बनाएका छन्। जसको कारण जिल्ला सदरमुकामका प्रत्येक टोलमा यो व्यावसायिक बन्दै गएको छ। तिहार नजिकिँदै जाँदा पाल्पामा उत्पादन हुँदै आएको झिनियाँ रोटीको व्यापार बढ्दै गएको छ। खासगरी ग्रामीण क्षेत्रबाट बजार गर्न आउनेले यसलाई लिएर जाने भएकाले पनि यसको व्यापार बढदै गएको व्यापारीको अनुभव छ।

करिब १० वर्षदेखि यसको व्यापार र रोटी बनाउदै आएका तानसेन टक्सार टोलका विकास नापित आफ्नो परिवारका सबै सदस्यले झिनियाँ रोटी बनाउने र बिक्री गरी राम्रै आम्दानी गर्ने गरेको बताउँछन्। पश्चिम पाल्पाको खस्यौलीमा झिनियाँ रोटी बनाउने व्यवसाय गर्दै आएकी लक्ष्मी आचार्यले खासै मेहनत नपर्ने तर रामैै्र आम्दानी हुने भएकाले झिनियाँ रोटी बनाउन सिकेको र यसबाट राम्रो आम्दानी भएको सुनाउनुभयो।
तिहारको लागि तानसेनमा बनेको झिनियाँ रोटी पाल्पामा मात्र नभई बुटवल, भैरहवा, पोखरा, नारायणगढ, काठमाडांैलगायतका शहरमा समेत बिक्री हुने गरेको छ।

झिनियाँ रोटी बिक्री गरेर तानसेनका करीब १ सय ५० घरपरिवारले तिहारको अवसरमा आम्दानी गर्ने राम्रो मौका पाएका छन्। तानसेनको बसन्तपुर, टक्सार, मखनटोल, भगवतीटोललगायतका ठाउँमा झिनियाँ रोटी बनाउने गरिन्छ। व्यवसायीले झिनियाँ रोटी बेचेर दशै तिहारलगायतका पर्वमा कम्तिमा ४० हजारदेखि ३ लाख रुपियाँ आम्दानी गर्ने गरेको बताउँछन्। अहिले व्यावसायिक प्रयोजनमा लागेका हरेकजसो घरका छतछतमा झिनियाँ रोटी सुकाउने गरेको देख्न सकिन्छ।

अर्का व्यवसायी कमल श्रेष्ठले यसको व्यापार बाहैं्र महिना हुने भए पनि तिहारको बेला बढेको र दैनिक करिब १० हजारको दरले हुने गरेको जानकारी दिनुभयो। लामो समयदेखि यसैको व्यापार गरेकी गृहणी श्रेष्ठले तिहारलाई लक्षित गरी दुई महिना अघिदेखि नै रोटी बनाउन थालेको र अहिले माग पुर्याउन समेत गाह्रो परिरहेको बताउनुभयो।

नेवारी समुदायमा मात्र बढी चलन चल्तीमा रहेको झिनियाँ रोटी आजकल अन्य समुदायले पनि प्रयोग गर्न थालेका कारण यसको व्यापार व्यवसाय बढेको हो। रंगिविरङ्गी झिनियाँ रोटी अन्य रोटीको दाँजोमा आकर्षक देखिएका कारण पनि यसको व्यवसायमा विस्तार हँुदै गएको हो। झिनियाँ रोटीको लागि चामल पिसेर मिसिनो पिठो बनाइन्छ, पिठोलाई राम्ररी फकाएर आकर्षणको लागि विभिन्न थरीका रङ मिसाएर हाते मेसिनबाट बनाउने गरिन्छ। बनाएको सिन्के रोटीलाई घाममा राम्रोसंँग सुकाएपछि मात्र बिक्री गरिन्छ। यसरी बिक्री भएको रोटीलाई घ्यू वा तेलमा फुराइ प्रयोग गरिन्छ।

अन्य जातजातिले दशैं तिहारमा मात्र प्रयोग गरे पनि नेवारी समुदायको लागि भने बाहैै्र महिना झिनियाँ सिन्के रोटी प्रयोग गर्ने परम्परा रहेको छ। तिहारको बेला अरू रोटी सेल, फिनी, अनरसा, चिनी रोटीलगायतसँगै झिनियाँ रोटी राख्दा राम्रो देखिने भएकाले पनि यसको व्यापार बढेको बराङ्दीबाट तानसेन रोटी खरिद गर्न आएकी विमला बस्यालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्