अत्रिकी छोरीको विवाह



पतञ्जलि–७ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

मानसी सृष्टिअनुसार सोम र दुर्वासा दुई छोरा जन्माइसकेका अत्रि ऋषिबाट मैथुनी सृष्टिअनुसार पत्नी अनसूयामा एउटा छोरा फेरि जन्मे। तिनको नाउँ आत्रेय राखियो। महर्षि अत्रिका छोरा आत्रेयबाहेक दुईवटी छोरी पनि जन्मे। तिनको नाउँ क्रमशः विश्ववारा र अपाला राखियो। यिनीहरूलाई अत्रिले स्वयं अध्यापन गरेर ब्रह्मवादिनीसम्म बनाए। विश्ववारा आत्रेयी ऋग्वेदका पञ्चम मण्डलको अठ्ठाइसौं सूक्त र यजुर्वेदका तेत्तीसौं अध्यायको बाह्रौं मन्त्रकी द्रष्टा ऋषि हुन्।

अपाला अत्यन्त राम्री थिइन्। उनको स्वर पनि अत्यन्त सुरिलो थियो। महर्षि अत्रिका गुरुकुलमा अध्ययन गर्ने किशोर वयका बटुहरूदेखि युवावस्थामा टेकेका सबै ब्रह्मचारीहरू फुर्सदका बेला रूप, विद्या र स्वरकी धनी ब्रह्मवादिनी अपाला आत्रेयीकै विषयमा कुरा गर्दथे। बाटो हिँड्ने बटुवा पनि यिनलाई देखेपछि आफ्नो गन्तव्यसमेत बिर्सेर पक्क परी हेरिरहन्थे। आत्रेय कुलकी स्वाभिमानी ब्रह्मवादिनी कन्या अपाला भने कसैलाई तृणबराबर पनि गन्दैनथिन्। अपाला आत्रेयी ऋग्वेद अष्टम मण्डलको एकान्नबेऔं सूक्तकी द्रष्टा ऋषि थिइन्।

बढे–पढेकी युवती कन्या भित्र–बाहिर गरेको देख्दा अत्रि ऋषिलाई अब छोरीलाई राम्रो र योग्य वर खोजेर जिम्मा लगाइदिन पाएहुन्थ्यो भन्ने लाग्न थालेको थियो। त्यस्तो योग्य वर भने पाइएको थिएन। एकदिन कृशाश्व नाउँका एकजना युवा घुम्दै, फिर्दै अत्रिका आश्रममा आइपुगे। खाइलाग्दो शरीर, जाइलाग्दो यौवन, फराकिलो छाती, लाम्चिलो निधारका साथै घोडाको जस्तो तेजिलो र जोशिलो ऊर्जा थियो उनमा। उनी नाट्यविद्याका विद्वान् हुनुका साथै नाट्यसूत्रका प्रवक्ता पनि थिए। त्यसै हुनाले उनको बोली र भावभङ्गीमा पनि कलात्मक आकर्षण थियो। एकैपल्ट आँखा जुध्दा अपालालाई कृशाश्व साह्रै मन परे।

अत्रि ऋषिले दुवैको विवाह गरिदिए। कृशाश्वले पत्नी अपालालाई अघि लगाएर आफ्ना घरमा ल्याए। परम्परागत शिष्टाचारअनुसार बेहुली भित्र्याउने काम सम्पन्न भयो। दुवैको दाम्पत्य जीवन सुखमय भएर बित्न लाग्यो।
क्रमशः

प्रतिक्रिया दिनुहोस्