बालअधिकार खै ?



पछिल्ला दिनहरुमा विभिन्न अधिकार र पैरवीका कुराहरु निकै चर्कोरुपमा उठिरहेका छन् । पहुँच पुगेका स्थानहरु र हुनेखानेहरुका लागि मात्रै अधिकार हो र निमुखा अनि बस्तीस्तरका पीडितहरुका लागि अझै अधिकार गाउँतहसम्म पुग्न नसकेको एउटा उदाहरण बन्यो नाबालकको हात भाँच्ने कुरा । बालश्रमिकको चर्को कुरा उठेका बेला होटलमा काम गर्ने १२ वर्षको बालकलाई रकम चोरेको आरोपमा होटल मालिक्नीले गरेको अभद्र व्यवहारको अहिले सबैतिरबाट निन्दा भैरहेको छ । बालकको हातै भाँच्चिएको अवस्थासँगै १५ दिनसम्म उनलाई उपचारलगायतका अन्य सहायताहरु नहुनु निकै पीडादायी कुरा भएको विश्लेषण पनि गरिएको छ ।

यस्ता घटनामा संलग्नहरुलाई कानुनी कारबाही अहिलेको आवश्यकता देखिएको छ । नयाँ कानुन लागू भैसक्दा पनि अझै हाम्रा समाजमा बालविवाह, बहुविवाह, हत्या, बलात्कार, बालश्रमलगायतका अपराधहरुमा कमी नहुनु पनि विडम्बनाको कुरा भएको छ । कर्णाली राजमार्गमा पर्ने दुल्लु नगरपालिका–३ सियालाको सागर होटलकी मालिक्नी शान्ति शाहीको मात्र हैन समाजमा हुने सबैखाले समस्याहरुको समाधानका लागि र वास्तविक रुपमा पीडामा परेका आमनागरिकको न्यायमा पहुँच विस्तार गर्नका लागि स्थानीय सरकारहरुले कानुनअनुसार कारबाहीको कुरा कडाइका साथ पालना गर्न ध्यान दिनुपर्ने देखिन्छ ।
– सुबोध सुनार, दैलेख ।

प्रतिक्रिया दिनुहोस्