प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वास्थ्य सुधार उन्मुख



भगवती तिमल्सिना, मधुसूदन रायमाझी, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण देखिएपछि सोमबार बिहान महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अस्पतालले प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई अस्पतालमा केही दिन ‘अब्जरभेसन’ का लागि राखिने जानकारी दिनुभयो ।

उहाँकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटीआई) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएको हो । गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री ओलीलाई अस्पतालको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको मोबाइल कोरोनेरी केयरमा राखिएको छ ।

सोमबार साँझ ६ बजे अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएको छ । सेन्टरका प्रमुख डा. अरुण कुमार सायमीद्वारा जारी विज्ञप्तिमा दुईपटक एक्से रे गरिएको मुटुको ईसीजी, इको तथा रगतको जाँच गरिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘प्रधानमन्त्रीलाई एन्टिबायोटिक, स्लाइन र नेबुलाइनर औषधि चलाइएको छ ।’ प्रधानमन्त्रीको छातीमा संक्रमण देखिनुको साथै चिनीको मात्रा बढेपछि सोमबार बिहान ४ः३० मा अस्पताल भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिस्ट डा. अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा. सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ ।

प्रधानमन्त्रीलाई उपचारका लागि विदेश लैजानुपार्ला कि भन्ने पत्रकारको जिज्ञासामा उहाँका निजी चिकित्सक डा. सिंहले शिक्षण अस्पतालको ‘अब्जरभेसन’ पछि यसबारेमा थाहा हुने प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो कम नभएकाले प्रधानमन्त्री ओली बिहान आफैँ गाडीमा बसेर अस्पताल जानुभएकाले उहाँको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताउनुभयो ।

मिर्गाैला प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्री ओली विगतमा ‘फलोअप’ का लागि थाइल्यान्डको बैंकक जाने गर्नुभएको थियो । दशैंको समयमा टीकाटालोका कारण नेता तथा कार्यकर्तासँगको भेटघाटले प्रम व्यस्त हुनुभएको थियो । दशैंलगत्तै पार्टी एकताको प्रक्रिया अगाडि बढाउने दैनिक बैठक र छलफलमा सहभागी हुनुभएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कात्तिक १० गते नेकपाले आयोजना गरेको चियापानमा अस्वस्थ भएपछि सहभागी हुन सक्नुभएको थिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मित्रराष्ट्र कतारको औपचारिक भ्रमण स्वीकृत गर्नेलगायत कार्यसूचीका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता पनि अस्पताल पुग्नुभएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, केशव बडाललगायत पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्