कवाडीबाट दैनिक एक अर्बको कारोबार



प्रशान्त वली, काठमाडौं
कवाडी सामानबाट दैनिक एक अर्बको कारोबार हुने गरेको छ। कवाड सामान संकलनका कारण फोहोरमैला व्यवस्थापनमा समेत टेवा पुगेको दाबी गर्दै दैनिक एक अर्बको कारोबार हुने गरेको कवाड व्यवसायीहरू बताउँछन्।

कवाड व्यवसायले २५ लाख नागरिकलाई रोजगार बनाएको छ। अहिले दैनिक सयदेखि एक सय २५ ट्रक कवाडका सामानहरू देभभित्रकै उद्योगहरूमा खपत हुने गरेको कवाड व्यवसायी समाजका केन्द्रीय अध्यक्ष रामकेवल गुप्ताले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘फोहोरमैला व्यवस्थापन र स्वच्छ वातावरण निर्माणमा हाम्रो भूमिका महत्वपूर्ण छ। तर, हामीलाई राज्यले चिनेन। डम्पिङ साइडमा जाने फोहोरलाई पुनः उत्पादनका रूपमा उपयोग हाम्रै कारणले भएको छ।’

कवाड सामानहरूमा घरबाट संकलन भएका बोतल, कागज, फलाम, सिसालगायत पर्दछन्। प्रतिदिन देशभरबाट १३ हजार क्विन्टलदेखि १५ हजार क्विन्टलसम्मको कवाडीहरू संकलन हुने गरेको छ।
संकलित कवाडी सामानहरू काठमाडौंसहित वीरगन्ज, हेटौंडा, नवलपरासी, महेन्द्रनगरलगायतका स्थानमा रहेका उद्योगहरूमा खपत हुने गरेको छ। कवाड व्यवसायी ओमप्रकाश सिंहले भन्नुभयो– ‘स्वदेशी उद्योगमा कच्चापदार्थका रूपमा बिक्री गर्दै आएका छौं।’

यसैबीच सरकारले अनावश्यक कर असुलेको भन्दै कवाड व्यवसायीहरूले आपत्ती जनाएका छन्। आफूहरूले नाफाकर, भ्याट, दर्ता, नवीकरण, घर बहालकर तिर्दै आएको भन्दै सरकारले विनाकारण व्यवसाय सञ्चालन करको नाममा आफूहरूलाई दुःख दिएको दाबी गरेका छन्।

हाल चन्द्रागिरि नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत भन्दै कर असुलेको व्यवसायीको आरोप छ। सो नगरपालिकाले वियरको बोतलमा प्रतिकिलो एक रुपियाँ, रक्सीको बोतलमा प्रतिकिलो ५० पैसा, फुटेको सिसामा प्रतिकिलो एक रुपियाँ, फलाममा प्रतिकिलो दुई रुपियाँ र कागजमा प्रतिकिलो एक रुपियाँ ५० पैसा कर लिने निर्णय गरेको थियो।

कवाड व्यवसायी समाजका केन्द्रीय अध्यक्ष गुप्ताले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘चन्द्रागिरि नगरपालिकाले कर लिने हो भने हामीले सामान ढुवानी ओसारपसार गर्दा १ सयभन्दा बढी नगरपालिकालाई रकम तिर्नुपर्छ। अवैधरूपमा कर लगाइएको छ। तुरुन्त खारेज गरिनुपर्छ।’

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरिले भने स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत रहेर कर लिएको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘करबाट संकलित रकम अन्य नगरपालिकालाई पनि उपलब्ध गराउँछौं। हामीले वैधानिक तरिकाले व्यवसाय कर लिएका हौं। कर छल्ने काम कोही कसैबाट हुनुहुँदैन।’

प्रतिदिन देशभरबाट १३ हजार क्विन्टलदेखि १५ हजार क्विन्टलसम्मको कवाडीहरू संकलन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्