प्रेरणादायी फुटबलर लुका मोड्रिच



कविरस शर्मा
रसिया विश्वकपको सेमिफाइनलमा जब इंग्लिस टोलीलाई क्रोएसियाले हरायो, त्यतिबेला सारा इंग्ल्यान्ड स्तब्ध, क्रोधित भए भने केही समर्थक आँशुमा डुबेका थिए। त्योसँगै करिब ४१ लाख जनसंख्या रहेको क्रोएसिया सन् १९५० मा ब्राजिललाई हराएर विश्वकपको फाइनल पुग्ने उरुग्वेपछिको सबैभन्दा सानो राष्ट्र बन्यो।

हुनत पेरिसिच र मारियो मान्डुजुकिचको गोलको मद्दतले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै क्रोएसियाले पहिलोपटक फिफा विश्वकपको फाइनलमा स्थान पक्का गरेको थियो। तर जित पछाडिको महत्वपूर्ण योगदान कसको भनेर इंग्लिस प्रशिक्षक गेरेथ साउथगेटलाई राम्ररी थाहा थियो। त्यसैले त खेलपछि लुका मोड्रिचलाई उनले अँगालो हाल्दै तिमीले धेरै मेहनत गर्यौं भनेका थिए। वास्तवमै मोड्रिच धेरै मेहनती खेलाडी नै हुन्। त्यसैले त उनी अहिले क्रोएसियाली टिमका साथै स्पेनिस महारथी रियल मेड्रिडका पनि मेरुदण्ड बनेका छन्।

वास्तवमै यसपटक फिफाले उनलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेर उनीमाथि न्याय गरेका छन्। मोड्रिच, केही फुटबल खेलाडीमध्येका एक हुन्, जो क्रोएसियाली फुटबल इतिहासका स्वर्णिम अक्षरधारी नाम हुन्। पाको उमेरमा पनि उनले उक्त अवार्ड पाएसँगै करिब एक दशकदेखि विश्व फुटबलमा राज गर्दै आएका दुई स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको वर्चश्वलाई समेत तोड्ने पहिलो खेलाडीको उपमा पाउन सफल भएका छन्।

उनी यस्ता मिडफिल्डर हुन्, जो आक्रमणका लागि सही ठाउँमा बल उपलब्ध गराउनेदेखि रक्षापंक्तिमा पर्खाल बन्ने काममा समेत निपुण छन्। वास्तवमा उनको जीवनको सुरुआत नै रक्षा र आक्रमणबीचको माहौलमा गुज्रिएको थियो। जब उनी ६ वर्षका थिए, उनको हजुरबुबालाई गोली हानेर हत्या गरियो। उनको परिवार युद्ध क्षेत्रमा शरणार्थी भएर बसेको थियो। जहाँ उनी ग्रिनेडको विस्फोटबीच हुर्किए। तर, उनै मोड्रिचले आफ्नो कप्तानीमा क्रोएसियालाई पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुर्याउन सफल भए।

उनीसहित क्रोएसियाली टिमका केही खेलाडीले आफ्नो बाल्यकालमा हिंस्रक संघर्ष र सन् १९९१ को युगोस्लाभियाको पतनलाई देखेका छन्। क्रोएसियाबाट खेल्नुअघि मोड्रिचले स्विजरल्यान्डको जुनियर टिमबाट समेत खेलेका थिए। उनी जर्मनीमा आफ्नो परिवारसँग हुर्किएका थिए। गृहयुद्धबीच सर्बियन सेनाको बमबारी सकिएपछि उनको दिनचर्या जदार शहरका सडकमा फुटबल खेलेर बित्ने गथ्र्यो। एक अन्तर्वार्तामा उनले युद्धले आफूलाई बलियो बनाएको र फुटबल खेलेर ती घटनालाई भुलाउन चाहेको बताएका थिए। ३३ वर्षीय लुका मोड्रिचले आफ्नो करियरलाई उचाइमा पुर्याउन धेरै चुनौतीको सामना गर्नुपरेको थियो।

१९८५ सेप्टेम्बर ९ मा जन्मिएका मोड्रिच जब १० वर्षका थिए, त्यस समय प्रशिक्षकले कमजोर र लजालु हुनुको कारण उनले फुटबल खेल्न नसक्ने बताएका थिए। तर उक्त कुरालाई उनले गलत प्रमाणित गरिसकेका छन्। अर्का एक प्रशिक्षकले उनलाई डाएनामो जाग्रेब क्लबसँग ट्रायलको व्यवस्था मिलाउनु नै उनको करियरको टर्निङ प्वाइन्ट बन्यो। १६ वर्षको उमेरमा मोड्रिच डाएनोमोमा १० वर्षका लागि अनुबन्धित भए। तर सन् २००३ मा उनी बोस्नियामा प्रिमियर खेल्न पुगे। जहाँ उनी आफ्नो मेहनती प्रदर्शनका कारण १८ वर्षको उमेरमै बोस्निया लिगको प्लेयर अफ द इयर चुनिए। त्यही वर्ष उनी क्रोयसियाली फुटबल लिगमा खेल्न लोनमा आए। जहाँ उनले खेलेको क्लब इन्टर जाप्रेसिच दोस्रो स्थानमा रहँदै युईएफए कपको पहिलो राउन्डमा पुग्न सफल भएको थियो।

जहाँ उनले सन् २००४ मा क्रोएसियन फुटबल होप अफ इयरको उपाधि हात पार्न सफल भए।

त्यसपछि पनि उनले आफ्नो प्रर्दशनलाई अझै सुधार गर्दै लगे। अनि बल्ल उनी आफ्नो देशको राष्ट्रिय टोलीमा अटाए। सन् २००६ मा मोड्रिचले अर्जेन्टिनाविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय करियरको सुरुआत गरेका थिए। आजको मितिसम्म मोड्रिचले आफ्नो देशका लागि १ सय १६ म्याच खेलिसकेका छन्। यसक्रममा उनले तीन युरो कप र तीन विश्वकप खेलेका छन्।

१० वर्ष सम्झौता गरेका कारणले इन्टर जाप्रेसिचबाट सन् २००५ मा पुनः उनी डाएनामोमा नै फर्किए। जहाँ उनले चार वर्ष बिताएपछि २००८ मा इंग्लिस प्रिमियर क्लब टोटनह्याममा आबद्ध भए। उनले टोटनह्याममा सन् २००८ देखि २०१२ सम्म खेलेका थिए। तर २०१२÷१३ को सिजनका लागि भने स्पेनिस क्लब रियल मेड्रिडले उनलाई ५ वर्षका लागि ३० मिलियन पाउन्डमा अनुबन्ध गर्यो। त्यसको दुई दिनपछि नै उनले चर्चित एल क्लासिको म्याचमा बार्सिलोनाविरुद्ध रियलका लागि डेब्यु गरे। उनी सन् २०१२ देखि स्पेनिस क्लब रियल मेड्रिडका लागि निरन्तर खेलिरहेका छन्। त्यसक्रममा उनै मोड्रिचले गत सिजन रियललाई लगालग तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन मिडफिल्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मोड्रिच विश्वका सबैभन्दा मूल्यवान फुटबलरमध्येका एक हुन्, जो ६ पटक क्रोएसियाको फुटबलर अफ द इयरसमेत भइसकेका छन्। रुस विश्वकपपछि उनी एकमात्र क्रोएसियाली फुटबलर बने, जसलाई फिफाले विश्व–११ को टिममा सामेल गरे। रूस विश्वकपको तीन खेलमा म्यान अफ द म्याच बनेका मोड्रिचले गोल्डेन बल पाउनुका साथै उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पारे।

विश्वकप र च्याम्पियन्स लिगमा गरेको मिहिनेतको अर्को नतिजा भने उनले गत महिना लन्डनमा भएको फिफा वर्ष खेलाडी समारोहमा प्राप्त गरे। वास्तवमा उनी यसका प्रमुख हकदार पनि हुन्। किनभने उनकै प्रेरणादायी प्रदर्शनको भरमा क्रोएसियाले पहिलोपटक विश्वकपको फाइनल खेल्नुका साथै रियलले च्याम्पियन्स लिगमा ह्याट्रिक उपाधि जित्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्