क्याम्पसको पर्खाल भत्काएको भन्दै वडाध्यक्षविरुद्ध उजुरी



नेपाल समाचारपत्र, काभ्रे ।
वर्षअघि क्याम्पसले निर्माण गरेको पक्की चाइनिज पर्खाल र दाताले निर्माण गरिदिन लागेको जनमत वाङ्मय पुस्तकालय भवनको जग र पिल्लरसमेतमा क्षति पु¥याउने गरी रातको समयमा वडाध्यक्षसमेत रहेका बनेपा–६ का सचितानन्द केसीको समूहले डोजर चलाएको भन्दै काभ्रे बहुमुखी क्याम्पसले किटानी जाहेरी दर्ता गरेको छ।

 

क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख केजी बयदारले सरकारी सार्वजनिक सम्पत्ति हानी नोक्सानी र तोडफोड गर्ने बनेपा–६ का ४५ वर्षीय सचितानन्द केसी, ४० वर्षीय दीपक दाहाल, ४५ वर्षीय दीपक तिमल्सिना, २८ वर्षीय गोविन्द दाहाल, ३० वर्षीय विष्णु नारायण श्रेष्ठ, डोजर चालक र बा२क ५६६६ नम्बरको डोजरसहितलाई इलाका प्रहरी कार्यालय बनेपामा उजुरी गरिएको बताए। २०७५ असोज २७ गते साँझ ६ बजे काभ्रे बहुमुखी क्याम्पस रहेको वडा नम्बर ६ को कित्ता नम्बर १६५ क्षेत्रफल १८ रोपनी १० आना ३ पैसा ३ दाम जग्गा र त्यसमा बनेका भवन तथा पार्खालसेमत नेपाल सरकारको हक स्वामित्वभित्रको सम्पत्ति भएकाले सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा उल्टै डोजरसमेत चलाई २० लाख क्षति पु¥याएकामा पक्राउ गरी कानुनबमोजिम सजाय तथा क्षतिपूर्तिसमेत माग गरिएको क्याम्पस प्रमुख बयदारले बताए।

पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समिति अध्यक्ष लम्बोदर कायस्थ, उपाध्यक्ष मोहन दुवालले २०५२ साल जेठ १९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार क्याम्पस सञ्चालन गर्न नेपाल सरकारको स्वामित्व रहने गरी हक हस्तान्तरण गर्न नपाउने गरी जग्गाधनीमा नेपाल सरकार, काभ्रे बहुमुखी क्याम्पस जनिई दर्ता गरी प्रदान गरिएको बताए। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पब्लिक क्याम्पससमेत रहेको काभ्रे बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारको नियमित अनुदान प्राप्त हुँदै आएको छ। क्याम्पसको चल अचल सम्पत्ति नेपाल सरकारको हुने कानुनतः उल्लेख गरिएको छ।

क्याम्पसको नाममा भएको जग्गा आफ्नो तहबाट हक हस्तान्तरण गर्न नसक्ने भएकाले कानुनी प्रक्रियामार्फत नै वडा कार्यालयलाई लिन र प्रयोग गर्न लिखित अनुरोध गरेको क्याम्पस प्रमुख केजी बयदारले बताए। बनेपा नगरपालिका–६ ले क्याम्पस पूर्व रहेको समुदायका लागि ढुवानी गर्न तथा अन्य प्रयोजनका लागि जनक तिमल्सिनासहित १७ जना उपभोक्ताको निवेदन परेकाले वडा कार्यालयले निवेदनसहित क्याम्पसमा पत्र पठाएको वडाध्यक्ष सचितानन्द केसीले बताए। ‘कानुनविपरीत क्याम्पसले भवन निर्माण गरेकाले डोजर लगाएरै भत्काएको हुँ’, अध्यक्ष केसीले भने– ‘जनताका लागि सडक निर्माणका लागि पहल गरेको हुँ।’

कानुनअनुसार गरेकाले आफूले कुनै अपराध नगरेको वडाध्यक्ष केसीले बताए। वडाध्यक्षले नक्सा पास नगरी घर बनाए पनि भत्काउन सक्ने कानुनी व्यवस्था छैन। नगर प्रमुखबाहेकले घर भत्काउन सक्ने कानुनी प्रावधान छैन। क्याम्पसले भने वडाध्यक्ष केसीले भनेजस्तो कानुनको पालना नगरेको बताउँदै कानुनी कारबाहीको माग गरेका छन्। नक्सा पास प्रक्रियामा रहेकाले क्याम्पसको निजी जग्गामा भवन बनाउन कसैसँग थप अनुमति लिनु नपर्ने र कोही कसैलाई आवश्यक परेको अवस्थामा जग्गा उपलब्ध गराउन क्याम्पसले नसक्ने अध्यक्ष लम्बोदर कायस्थले बताए।

कानुनबमोजिम चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गन, खरिद बिक्री गर्न तथा आवश्यक परेमा ऋणसमेत लिन सक्ने कानुनी व्यवस्था भएकाले क्याम्पसले कसैको लहडमा जग्गा उपलब्ध गराउन नसक्ने बताएको छ। क्याम्पसको पर्खालमा डोजर लगाएकै भोलिपल्ट क्याम्पसको स्वामित्वमा रहेको जग्गा र टहरासमेत खाली गर्न वडा कार्यालयलाई ३५ दिने पत्र पठाएको छ।

प्रतिक्रिया दिनुहोस्