विद्यार्थीको भविष्य अन्धकार हुन दिदैनौँः सांसद बस्नेत



काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विधि र कानूनलाई सम्मान गर्दै नेपाल इञ्जिनियरिङ कलेजका विद्यार्थीको भाग्य र भविष्यलाई अन्धकार हुन नदिने बताउनुभएको छ ।

 

आज भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–४ स्थित इञ्जिनियरिङ कलेजको नवौँ साधारणसभालाई सम्बोधन गर्दै सांसद बस्नेतले कलेजमा अध्यनरत दुई हजार २०० भन्दा बढी विद्यार्थीको भविष्य सुरक्षित गर्न न्यायोचित र सर्वस्वीकार्य निर्णय गर्दै अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

 

उहाँले लोकतान्त्रिक पद्धतिमा जनप्रतिनिधिले गरेको निर्णयलाई मन्त्रिपरिषद्ले समेत स्वीकृत गर्ने बताउँदै नगरपालिकाको नेतृत्वमा सम्पूर्ण राजनीतिक दल एकढिक्का भई सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कलेजको वैधानिकता अबको अपरिहार्यता भएको भन्दै उहाँले सार्वजनिक सम्पत्तिलाई निजीकरण गर्न नहुने बताउनुभयो ।

 

कार्यक्रममा प्रदेश नं ३ का सांसद मणिराम फुँयालले संस्था बचाउनेको कलेजमा स्वामित्व हुने बताउँदै संस्थाले गर्ने नीति तथा नियमहरु तत्काल किटानी गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

 

सभामा नेकपा भक्तपुरका अध्यक्ष बचन सिं देउजा, भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र स्थानीय सरोकार समितिका संयोजक तथा काङ्ग्रेस नेता कृष्णलाल पँडेलले कलेजको वातावरण स्वच्छ, सुन्दर, व्यावहारिक तथा प्रयोगमुखी वातावरण सिर्जना गर्न सबैको सहमति रहेको बताउनुभयो ।

 

कार्यक्रमका अध्यक्ष प्रा डा दीपक भट्टराईले सामाजिक भावनाभन्दा व्यक्तिगत भावनाको हाबी भएका कारण कलेज सञ्चालनमा समस्या उत्पन्न भएको गुनासो व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्