ढुंगाले हानी बृद्धको हत्या, पछि घरमा आगो



मोतीराम तिमल्सिना, काभ्रे ।
दशैँको नवमीको दिन घरमा सुतिरहेको समयमा नमोबुद्ध नगरपालिका वडा नम्वर ५ कानपुर डुँडीचौर घर भएका ७६ बर्षिय ज्ञानध्वज तामाङलाई ढुंगाले हानेर हत्या गरिएको छ । तामाङको हत्या पछि उनी बस्दै आएको घरमा आगो लगाईएको छ भने उनको ट्याङ्कमा भएका नगद लुटिएको र कागजपत्रमा समेत आगो लगाईएको छ ।

जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख एसपी रविराज खड्काका अनुसार हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । विजया दशमीको दिन विहान उनको घर हुँदै जाने ब्यत्तिले घर जलेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

२०७५ बैशाख ६ गते श्रीमतीको निधन भएपछि ज्ञानध्वज एक्लै बस्दै आएका थिए । तीन छोराहरु मध्ये जेठो गाउँमै शिक्षक छन् भने माईलो युयनमा काठमाडौमा काम गर्दै आएका छन् । कान्छो बैदेशिक रोजगारको क्रममा बाहिर छन् । ज्ञानध्वज छोरा बुहारी भएको स्थानमा समेत नबसी एक्लै बस्दै आएका थिए । एउटा भैसी, गाई, बाख्रा समेत पालेर दैनीक चार लिटर दुध विक्री गर्दै आएका ज्ञानध्वजको एउटा गोठ, एउटा भुकम्पले भत्काएको घर र भुकम्प पछि बनाएको टहरा थियो ।

गोठमा गाई बस्तु बाध्ने, भत्किएको खरको छानो भएको घरमा खाना पकाएर खाने र त्यहि घरमा जमरा सहितको पुजाआजा गर्ने गरेका ज्ञानध्वज टहरामा सुत्दै आएका थिए । घटनाको प्रकृति केहि बेर ज्ञानध्वज र हत्या गर्ने ब्यक्तिहरु बीच घम्साघम्सी परेको देखिन्छ । उनको ट्याङ्का फुटाईएको छ भने ट्याङ्कामा भएका सामानहरु लुटिएका छन् । त्यहि निर कागजपत्रमा आगलागी गरिएको छ । प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीका अनुसार ज्ञानध्वजको कञ्चटमा दुईवटा ढुंगाले बजारिएको छ । टाउकोमा गिदी निस्किएको छ । उनी घर बाहिर घरको सुर निर ढलेका छन् । उनी ढलेको स्थान निर उनको हातसँगै खुकुरी छ । उनले खुकुरीले प्रहार गर्ने प्रयास गरेको घटनास्थलको प्रकृतिबाट देखिन्छ ।

प्रहरीले तत्कालै केन्द्रिय अनुसन्धान टोली झिकाएर कुकुर मार्फत अपराधी पत्ता लगाउने प्रयास गरेको थियो । हत्याराहरु कुन उदेश्यले ज्ञानध्वज बसेको घरमा पुगे ? कतिको संख्यामा थिए ? ज्ञानध्वजको हत्या समेत गरेर किन घरमा र कागजमा आगो लगाए ? प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रमुख रविराज खड्काले बताए । टोली नै बनाएर अनुसन्धान शुरु गरिएको एसपी खड्काले बताए । ज्ञानध्वजको घर गाउँबाट एकान्त कसैले देख्न नसक्ने स्थानमा थियो । प्रहरीले त्यस स्थानमा सुरक्षा ब्यवस्था कडा बनाएको छ भने ब्यक्तिहरुको निगरानी र चेकजाँच तिब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्