कृष्णनगर तनावग्रस्त बन्दै, लाग्यो अनिश्चितकालीन कर्फ्यू



नेपाल समाचारपत्र, कपिलबस्तु ।
नेपाल भारत सिमानाका कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बन्दै गएको छ। शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक मुर्ती राखिदिएपछि एकाएक कृष्णनगर तनावग्रस्त बनेको हो ।

कृष्णनगरमा तनाव हुन नछोडेपछी कपिलवस्तु प्रशासनले आज साँझ ५ बजेदेखि कफ्र्यूृ आदेश जारी गर्ने भएको छ। हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलबस्तु प्रसासनले कर्फु लगाउने भएको हो।

अहिले पनि कृष्णनगरमा हिन्दु धर्मालम्बी र मुस्लिम समुदायबीच दोहोरो ढुंगा हानाहान भइरहेपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्न आज साझ ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार सामान्य विषय भए पनि धार्मिक हिंसा भड्किने खतरा आएकाले कर्फ्यू जारी गर्नु परेको हो । उनले दई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको बताए ।

अहिले सो क्षेत्रको स्थिती तनावग्रस्त छ । शनिवार हिन्दुहरुले मस्जिद नजिकै दुर्गा भवानीको मुर्ती सेलाउन खोजेपछि सो क्षेत्रका मुस्लिमहरुले मस्जिद अगाडी नसेलाउन आग्रह गरेका थिए ।

अहिले भने दुर्गा भवानीको मुर्ति सेलाउने कार्य भने भइरहेको छ । यसअघि पनि सधैं कृष्णनगर –२ मा रहेको सो मस्जिद नजिक दुर्गा भवानीको मुर्ति सेलाइने गरिन्थ्यो ।

सोही क्रममा हिन्दु र मुस्लिम समुदायबीच केही बेर झडपसमेत भएको थियो । अहिले सो क्षेत्रमा तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । सो क्षेत्र मुस्लिम बाहुल्य क्षेत्र पनि हो ।

त्यस्तै कर्फ्यू लागेसंगै कृष्णनगर नाकामा नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीले आवजजावजमा समेत कडाई गरेका छन।

प्रतिक्रिया दिनुहोस्