दार्चुलामा एपिएल क्रिकेटः पहिलोपटक अक्सन मार्फत खेलाडी छनौट



विनोद सिंह विष्ट, बैतडी ।
नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा दार्चुलामा प्रथम अपी प्रिमियर लिग(एपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

अपी हिमाल गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजना र मल्देश क्रिकेट क्लब(एमसिसि)सह आयोजनामा कात्तिक ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

अपी हिमाल गाउँपालिका ४ सम्देलीचौड खात्तीमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ७ टोली सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागी खेलाडी छनौट अक्सनमार्फत असोज ३० गते छनौट गरिने प्रतियोगिताका निर्देशक खडक लोथ्यालले जानकारी दिनुभयो ।

दार्चुला जिल्लाको क्रिकेटको ईतिहासमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनौट गरिन लागिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ७५ हजार र द्वितीय पुरस्कार रु ४० हजार ट्रफी र प्रमाणपत्र राखिएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई नगद रु ५ हजार मेडल र प्रमाणपत्र पाउनेछ । उत्कृष्ट ब्याट्सम्यान,उत्कृष्ट बलर,उदयीमान खेलाडी, अनुशासित खेलाडीले जनही रु २ हजार ५०० नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउने जनाईएको छ । प्रतियोगिता कात्तिक १४ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन कात्तिक ७ गते दार्चुलावाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आथित्यमा हुने भएको छ । साथै उक्त उद्घाटन समारोहमा प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, मान बहादुर धामी र नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द बिशिष्ट अतिथी रहनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्