प्रमलाई माधव नेपालको सुझाव– ‘डण्डा चलाउनुस्’



मोतीराम तिमल्सिना, काभ्रे ।
नेकपाका बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव नेपालले जनताले धेरै आश गरेको सरकारको कामलाई तिब्र गति दिन प्रधानमन्त्रीले डण्डा चलाउनु पर्ने सुझाव दिएका छन् । ‘प्रधानमन्त्री ज्यू पहिले तपाईका मन्त्री अनि सचिव, महानिर्देक हुँदै इन्जिनियर र निर्माण ब्यवसायीहरु माथी डण्डा चलाउनुस्’–नेता नेपालले भने ।

मण्डन देउपुर नगरपालिकामा नगर बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले काभ्रेलाई प्रदेशमात्र नभई मुलुककै केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेता नेपालले सुशील कोइराला नेतृत्वको सरकारको पालादेखि नै स्थानीय तहका लागि आवश्यक कानुन निर्माण गर्न ढिलाई भएका कारण अहिले अधिकारका विषयमा समस्या आएको बताए । सोही कारण स्थानीय तहले आफ्नो अधिकारका लागि संघर्ष गर्नुपरेको उनले बताए । नेता नेपालले काभ्रेको बनेपामा विमानस्थल निर्माणको चर्चाबारे हचवाका आधारमा नभई विमानस्थल निर्माणपछि त्यसबाट लिनसक्ने फाइदाको अध्ययन गरेरमात्रै काम अगाडि बढाउनुपर्ने बताए ।

काभ्रेलाई प्रदेशको राजधानी बनाउने विषयमा सांसदहरु, पार्टीका नेता तथा सरोकारवालाबीच बहस चलाउनुपर्ने बताए । उनले काभ्रेकोपाँचखाल तातोपानी नाकासँग सिधा जोडिएको तथा अन्य विभिन्न जिल्लाको केन्द्रसमेत बन्नसक्ने भएकाले सोही अनुसार पाँचाखाल क्षेत्रको विकास गर्नुपर्ने बताए । कार्यक्रममा नेता नेपालले जिल्ला मै पहिलोपटक मण्डन देउपुर नगरपालिकाले सुरु गरेको नगरबस सेवाको शुभारम्भ गरेका थिए । नगरपालिकाको अग्रसरतामा सुरु भएको नगरबस सेवामा हाल ६ वटा बस सञ्चालनमा ल्याइएको छ भने चाँडै १५ वटासम्म पु¥याउने बताइएको छ । यो सेवा कुन्ताबेसीबाट नयाँगाउँ हुँदै नगरकोट, नगरकोटबाट देउपुर हुँदै कुन्ताबेसी तथा कु्रन्ताबेसीबाट कोलाचौर तथा ५० किलो हुँदै दोलालघाटसम्म सञ्चालन हुनेछ । यहाँ हेलम्बु यातायात सेवा समितिले बस सेवा सञ्चालन गरेको हो ।

कार्यक्रममा नेकपा प्रदेश नंवर ३ का सहइन्चार्ज हितमान तामाङ, पुर्व सभासदद्वय कृष्णप्रसाद सापकोटा तथा बिदुर सापकोटा, प्रदेश सांसदहरु लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकवहादुर वाइवा, उपप्रमुख निर्मला शाही, राजनीतिक दलका प्रतिनिधि लगायतले नगरबस सेवा सुरु भएपछिको फाइदाका विषयमा बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्