दाङमा अब नेकपाको पार्टी कार्यालय एउटै



नरेन्द्र केसी, दाङ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको पार्टी कार्यालयको आइतबार उद्घाटन गरिएको छ ।
नेकपाका पाँच नम्वर प्रदेश इन्चार्ज तथा पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिका १५ भरतपुरमा रहेको पार्टी कार्यालयको व्यानर खोलेर उद्घाटन गर्नुभएको हो । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच ०७५ जेट ३ गते एकिकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घोषणा गरिएको थियो । केन्द्रमा पार्टी एकिकरण घोषणा र केन्द्रीय समिति निर्माणको झण्डै ५ महिनापछि दाङमा जिल्ला तहमा एउटै कमिटी र एउटै पार्टी कार्यालय बनाउने कार्य सुरु भएको छ । सोही अनुरुप तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय भरतपुरलाई नेकपाको पार्टी कार्यालय बनाइएको हो ।

नेकपाको कार्यालय उद्घाटन गर्दै प्रमुख अथिती एवं नेकपाका प्रदेश इन्चार्ज शंकर पोख्रेलले अवको एकमहिनाभित्र स्थानीय तहका कमिटी समायोजन प्रक्रिया टुंगीने बताउनुभयो । पार्टी एक भइसक्दा पनि जिल्ला र स्थानीय तहमा कमिटी एउटै नवन्दा शुन्यता सिर्जना भएको भन्दै उहाँले यस्तो अवस्था अव धेरै दिन नहुने बताउनुभयो । ‘जिल्ला तहको समायोजन प्रक्रिया पनि सुरु भइसकेको छ कम्तीमा १५ दिनदेखि एकमहिना लाग्ला’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो,– स्थानीय तहको कमिटी समयोजन पनि महिनादिन भन्दा धेरै लाग्ने अवस्था छैन । जिल्ला तहमा कार्यदल निर्माण गरेर उसलाई २० दिनभित्र स्थानीय तहको कमिटी सिफारिस गर्ने समय सिमा तोकिएको भन्दै पोख्रेलले कार्यदलले सिफारिस गरे त्यसलाई टुंग्याउन प्रदेश कमिटीले ढिलाई नगर्ने बताउनुभयो ।

उहाँले नेकपामा भूमिका दिए काम गर्थे भन्ने धेरै भएपनि केन्द्रले तोकेको कमिटीलाई सवैले मानेर जानुपर्ने बताउनुभयो । नेकपा दुइ पार्टीवीचको एकतामात्र नभइ दुइ महत्वपूर्ण आन्दोलनको एकता भन्दै पोख्रेलले यसलाई ऐतिहासिक र भावनात्मक एकतामा बदल्न आग्रह गर्नुभयो । पार्टी समयोजनपछि कार्यकर्तामा एकताको उत्साह देखिने भन्दै उहाँले नेकपालाई एकतावद्ध पार्टीका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । नेकपाको सरकार, कार्यकर्ताको एकतावद्ध प्रयासले समृद्ध नेपाल निर्माण गर्न सकिने पोख्रेलको भनाई थियो ।

नेकपाका कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अर्का कार्यदल सदस्य शिवकुमार आचार्यले गर्नुभएको थियो भने सञ्चालन कार्यदलका सदस्य सुवास पुनले गर्नुभएको थियो । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेकपाका सचेतक एवं प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरु रेखा शर्मा र सुजिता शाक्य नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सचिव जगप्रसाद शर्मा अपार, केन्द्रीय सदस्यहरु निर्मल आचार्य, हेमराज शर्मा, नरुलाल चौधरी, भागवत विश्वासी, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य उत्तरकुमार वली, स्थानीय तहका जनप्रतिनिधि एवं पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो

प्रतिक्रिया दिनुहोस्