प्रहरी कार्य प्रभावकारिताका लागि समुदाय(प्रहरी साझेदारी आवश्यकः गृहमन्त्री



काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा बादलले देशमा शान्ति सुरक्षा सुदृढ गर्ने, सबै प्रकारका अपराध न्यूनिकरण तथा निस्तेज गर्न र नागरिकलाई छिटो छरितो एवं प्रभावकारी सेवा प्रवाह गर्ने जिम्मेवारी पूरा गर्न सरकार, प्रहरी र समुदाय मिलेर अगाडि बढेमा अझै सहज हुने बताउनुभएको छ ।

गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समुदाय प्रहरी साझेदारी अवधारणाको प्रस्तुतीकरण तथा छलफल कार्यक्रमु मा उक्त कुरा व्यक्त गर्नुभएको हो ।

प्रस्तुतीकरणले शान्ति सुरक्षा र स्थायित्वलाई कसरी सुदृढिकरण गर्न सकिन्छ भन्ने व्यवहारिक सिद्धान्त प्रस्तुत भएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसलाई सफल बनाउन केन्द्रीय, प्रदेश र स्थानीय सरकार तथा प्रहरी, अन्य सरोकारवाला निकाय, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था र आमनागरिकको संयुक्त साझेदारी आवश्यक रहेको बताउनुभयो ।

शान्ति नभए सुशासन नहुने र सुशासन नभए विकास नहुने कारण अन्य देशले पनि शान्ति सुरक्षामा ठूलो बजेट खर्च गर्ने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले राष्ट्र समृद्धिका लागि हामीले पनि सुशासन र सुरक्षाको क्षेत्रमा बजेट र साधनस्रोत पर्याप्त विनियोजन गर्नुपर्छ भन्नुभयो ।

नेपाल प्रहरीले ल्याएको समुदाय (प्रहरी साझेदारी अवधारणाको नीति, योजना र संरचनामा स्थानीय सरकार र सरोकारवालाले एक्यबद्धता जनाइसकेको अवस्थामा गृह मन्त्रालयले समेत ८२ बुँदे कार्ययोजना अनुसार यसलाई समेटेर लैजाने उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा।कृष्णप्रसाद ओलीले नेपाल प्रहरीको योजनालाई स्थानीय तहबाटै लागू गरी अगाडि बढाउनुपर्ने बताउनुभयो । साथै उक्त आयोगका सदस्य मीनबहादुर शाहीले आयोगले मन्त्रालयसँग मिलेर काम गर्दै आएको उल्लेख गर्दै शासन सुधारको कुरा गर्दा समुदायसँग मिलेर काम गर्ने एउटा राम्रो योजना भएकोले प्रभावकारी रुपमा अगाडि लैजानु पर्नेमा जोड दिनुभयो ।

प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले प्रस्तुतीकरणमा आएका कार्ययोजनालाई कार्यान्वयन गर्न सके शान्ति सुरक्षा र अपराध अनुसन्धान नियन्त्रणमा अझै प्रभावकारिता आउने भएकोले ढिला नगरी लागू गर्नुपर्ने बताउनुभयो । कार्ययोजना कार्यान्वयनका लागि आवश्यक साधन स्रोत र जनशक्ति तयार गरी अभियानको रुपमा लैजानु पर्ने र यसका लागि समन्वय गर्न गृह मन्त्रालय तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले कार्यक्रमलाई स्थानीय स्तरसम्म पुर्‍याउनु पर्ने बताउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले साझेदारीताका लागि प्रत्येक स्थानमा प्रहरी युनिट हुनुपर्नेमा जोड दिनुभयो । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अवधारणा कार्यान्वयनका लागि साधन स्रोतका साथै नैतिक सपोर्ट पनि हुनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रस्तुतीकरण गर्दै गृह मन्त्रालय, गृह प्रशासन सुधार योजना र कानुनले व्यवस्था गरे अनुरुप कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित भएर अवधारणा तयार गरिएको बताउनुभयो । साझेदारीको रुपरेखा, साझेदारीहरु, औचित्य, साझेदारी संयन्त्र, राष्ट्रिय संयन्त्रबारे उहाँले जानकारी गराउनुभयो ।

प्रस्तुतीकरणको क्रममा प्रहरी महानिरीक्षक खनालले साझेदारी कार्यक्षेत्र, प्राथमिकता र गतिविधिहरु, व्यवस्थापन, अपेक्षित प्रभाव, अनुगमन तथा मूल्याङ्कन एवं भावी कार्यदिशा र अवधारणामा समेटिएका विषयवस्तुबारे विस्तृत रुपमा उल्लेख गर्नुभयो । राष्ट्रको परिकल्पना, सामुदायिक अवधारणा कार्यान्वयनका लागि आवश्यक अनुमानित बजेट, दीर्घकालीन योजना, अपेक्षित प्रतिफल, अन्तर्राष्ट्रिय समन्वय र सहभागीको बारेमा समेत उहाँले जानकारी गराउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुतीकरणबारे टिप्पणी गर्दै साझेदारी समेटिएकामध्ये तत्काल गर्न सक्ने कामलाई तुरुन्तै लागू गर्नुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अवधारणाको प्रशंसा गर्दै कार्यान्वनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्ववप्रसाद खरेलले प्रस्तुतीकरणप्रति टिप्पणी, पृष्ठपोषण र सुझाव दिँदै साझेदारी अवधारणा कार्यान्वयन भए धेरै कुरा अगाडि बढ्न सकिने भएकाले स्थानीय तह र प्रहरीबीच समन्वय गर्न आफूहरु तत्पर रहेको बताउनुभयो । अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले अवधारणा विश्लेषणात्मक र उत्कृष्ट रहेकोले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गृहमन्त्रीका राजनीतिक सल्लाहाकार सूर्य प्रकाश सुबेदी पथिकु, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नगरपालिकाका प्रशासकीय अधिकृतहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्