दशैंमा समेत तलब पाएनन् बैतडीका सरकारी कर्मचारीले



विनोद सिंह विष्ट, बैतडी ।
दशैंको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीहरुले गएको साउनदेखि तलब पाउन सकेका छैनन् । दशैंमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीहरुले बताएका छन् ।

दशैंको मुखमा समेत तलब नपाउँदा आफूहरुलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीहरुले साउनदेखि तलब नपाएको चन्दको भनाई छ। उनले भने“ मेरो २६ बर्षे सरकारी जागीरको यात्रामा दशैंको बेला तलब नपाएको पहिलो पटक भएको हो” यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीहरुले पनि तलब पाउन सकेका छैनन् । दशैं अघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञकेन्द्रका पशुसेवा प्राविधिक बिसन बिष्टले जानकारी दिए ।

डिभिजन वन कार्यालय, साविवको भू संरक्षण कार्यालयका कर्मचारीहरुले पनि तलब पाउन सकेका छैनन् । प्रदेश सरकार मातहतका केही कार्यालयका कर्मचारीहरु तलब पाएको भएपनि चारओटा कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए । उनले भने“ अहिले सम्म अख्तियारी नआएका कार्यालयको दशैं अघि अख्तियारी आउने सम्भावना कम रहेको छ ।”

प्रदेश सरकार रहेका कार्यालयहरुको तलब नपाउँदा नेपालीहरुको मुख्य चाड दशैतिहार नै खल्लो हुने भन्ने चिन्तामा कर्मचारी रहेका छन् ।
यसैबिच सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालयहरु कामविहीन बनेका छन् । नयाँ संरचना अनुसार बैतडीमा स्थापना भएका कार्यालयहरुले कार्यक्रम र अख्तियारी नपाउँदा कामविहीन बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्