शाखा सडकमा मनपरी भाडा



नेपाल समाचारपत्र, डोटी
दशैं नजिकिएसँगै डोटी जिल्लाका शाखा सडकमा चल्ने सवारी साधनले मनपरि भाडा असुल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालयले केही महिनाअघि शाखा सडक तथा कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपियाँ रेट तोकिएको भए पनि यहाँका जीप व्यावासयीले भने यसको दोब्बरभन्दा बढी पैसा यात्रुबाट असुल्दै आएको भुमीराजमाण्डौ सेलेनाका स्थानीय जगतबहादुर बलायरले बताउनुभयो। उहाँले भन्नुभयो– ‘प्रशासनले एक किसिमको भाडा तोकेको छ, गाडी चालकले मनपरी भाडा लिँदा स्थानीय निकै मर्कामा परेका छन्।’

१ किलोमिटरको १० रुपियाँ तोकेको जिल्लाका कच्ची सडकको भाडा अहिले जिपधनी तथा जिपचालकले प्रतिकिलोमिटर २० देखि २५ रुपियाँसम्म लिने गरेको यात्रुले गुनासो गरेका छन्। यहाँको सबैभन्दा दुर्गम मानिने बोगटान गाउँपालिका पुग्नका लागि स्थानीयले ९ सय देखि १ हजार २ सयसम्म भाडा तिर्नुपरेको स्थानीय बासिन्दा प्रकाश बमले बताउनुभयो। उहाँले भन्नुभयो– ‘करिब ५० किलोमिटर सडकमा यात्रा गरेको एकहजार बढी रकम तिर्नुपरेको छ, हाम्रो मर्का कसले सुन्ने।’

त्यस्तै यहाँका जिपचालक तथा धनीहरूले मनपरि भाडा असुल्दै आएको गुनासो यहाँका स्थानीय बासिन्दाले पटक–पटक स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयबासीको आरोप छ। चालकले दशैं मनाउन भारतबाट घरफर्किने मानिसबाट यसरी मनपरि भाडा असुल्न थालेको स्थानीयबासी बताउँछन्।

उता डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले प्रशासनले तोकेको दररेटभन्दा बढी भाडा ९रकम० कसैले लिएको पाइए कारबाही हुने बताए। उनले भने– ‘यातयात व्यवसायी समिति र प्रशासनबीच निशिचत दररेटको सम्झौता भएको छ। सोभन्दा बढी रकम लिएको प्रमाणित भए कारबाही गर्छौं।’
त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी बोहराले गाउँका सडकमा छड्के चेकजाँचका लागि कर्मचारी खटाइने र तोकिएभन्दा बढी भाडा लिनेलाई ठाउँको ठाउँ कारबाही हुने दाबी गरे। ‘हामीसँग एक किसिमको साम्झौता गर्ने अनि लिनेबेलामा मनपरि भाडा लिनेरु पाएँ भन्दैमा मनपरि भाडा असुल्नेलाई प्रशासनले छोड्दैन्, कारबाही गरेरै देखाउँछौं।’

प्रतिक्रिया दिनुहोस्