मौलाउँदो हतारकारिता



विगत ६ वर्षदेखि अर्धचेत बनेका कांग्रेस नेता चक्र बास्तोलाको स्वास्थ्य अवस्थाबारे शनिबार दिउँसो अनेकथरी समाचार भाइरल भए। उनको निधन भएको दावी गर्ने सञ्चारमाध्यमहरू कति हो, कति। यो विषयमा खास गरी रेडियो, टिभी र अनलाइनबीच को अघि हुने भन्ने ठूलै प्रतिस्पर्धा नै चल्यो।
‘ब्रेकिङ न्युज’ दाबी गर्ने केही अनलाइनको समाचार केही घन्टा पनि बित्न नपाउँदै अर्कैथरी समाचार आएको देख्दा धरहरा तिरिमिरी बन्यो। बास्तोलाको अन्त्येष्टि आइतबार हुने भन्दै दाबी गरेका अनलाइनले केही समयलगत्तै ‘स्वास्थ्य अवस्था गम्भीर’ भन्दै समाचार बङ्ग्याएको देख्दा धरहरा मात्रै होइन, आम नेपाली तिरिमिरी झ्याइँ हुने अवस्था आयो।

कांग्रेस नेताकै भनाइ सापटी लिएर निधनको समाचार बनाएका सञ्चारमाध्यमले पछि ‘भूल सुधार’ को व्यहोरासहित समाचार बनाएको देख्दा विगतका अन्य घटना पनि झलझली सम्झन बाध्य गराउँछ भन्या। चिकित्सक उपेन्द्र देवकोटा, वरिष्ठ सङ्गीतकार अम्बर गुरुङसहित अन्य व्यक्तित्वको स्वास्थ्य अवस्थाको चुरो कुरो नबुझी हतारमा समाचार बनाएर पछि पछुताएका उदाहरणबाट नेपाली सञ्चारमाध्यम अझै गल्या छैनन्।

एकपछि अर्को गल्ती दोहोरिँदै गर्दा नेपाली शब्दसागरमा ‘हतारकारिता’ भन्ने शब्द समावेश गर्नैपर्ने देखियो। भाषाविद्हरूको मोर्चाबन्दी गरेर छिट्टै यो शब्द डिस्नेरीमा घुसाउनुप¥यो। यो सुझाव सञ्चारमाध्यमका अग्रजहरूलाई चाहिँ कस्तो लाग्यो कुन्नि ?

प्रतिक्रिया दिनुहोस्