लेखापालमाथि कार्यकक्षमै हातपातः असुरक्षित भएको भन्दै कर्मचारीले काम गर्न छाडे



?

विनोद सिंह विष्ट, बैतडी ।
कार्यकक्षमै गएर बैतडीको सुर्नया गाउँपालिकाका लेखापाल भवानीप्रसाद भट्टमाथि शुक्रवार हातपात भएको छ । कार्यालयमा काम गरिरहेका बेला स्थानीय भरत मडै र नरेश मडैले हातपात गरेको लेखापाल भट्टले बताए । उनले भने“ कार्यालयमा पुगेका दुवैजनाले शुरुमा गालीगलौज गरेको र पछि हातपात गर्यो ।”

गाउँपालिकाका लेखापालमाथि हातपात भएको पुष्टी गर्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले दोषीमाथि कारवाही हुने बताए ।
यता कुटपीट गरेको आरोप लागेका पक्षले भने सो कुरा अस्वीकार गरेका छन् । कुटपिटको आरोप लागेका नरेश मडैले आफूहरुले कसैलाई कुटपीट नगरेको तर समान्य विवाद भएको बताए । उनले भने“ केही कुराको सूचना माग्दाखेरी लेखापालले अटेरी गर्दा सामान्य विवाद भएको कुरालाई उचालेर ठूलो बनाएको हो ।”

सुरक्षाको माग गर्दै कर्मचारीले काम गर्न छोडे
यसैबीच सुर्नया गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफूहरुको शान्ति सुरक्षाको ग्यारेन्टी नहुँदा सम्म काम नगर्ने भन्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

कार्यालयमै कर्मचारी कुटिने अवस्था आएकाले कर्मचारीहरुले निवेदन दिएर काम गर्न नसक्ने जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले बताए । कर्मचारीको ज्ञापनपत्र आफूसंग आईपुगेको र घटनाको बिषयमा छलफल गर्न गाउँकार्यपालिकाको भोली आकस्मिक बैठक बस्ने अध्यक्ष बिष्टले बताए ।

कर्मचारीमाथि हातपात भएको खबर पुगेपछि शंकरपुर प्रहरीचौकीबाट प्रहरीटोली खटाइएको छ । प्रहरी हवलदार कर्णबहादुर बिष्टका अनुसार घटनाको अनुसन्धान गर्दा लेखापाल भट्टमाथि सामान्य हातपात भएको छ । शनिवार गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार प्रहरी पनि अघि बढ्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्