घरको दुःखले प्रतिकूलतामै अनुकूलता खोज्दैछन् बालबालिका



चिरञ्जीवी मास्के, दोलखा ।
एउटा सानो टिनले छाएको दुई कोठे घर, केहि बेडहरु, ग्यास चुलो, ¥याक र केहि थान भाँडा वर्तन अनि १७ जना विद्यार्थी । यो दृश्य हो हिन्दू स्वयमसेवक संघ नेपालले भीमेश्वर नगरपालिका वडा नम्बर ६ रामकोटमा सञ्चालन गरेको आमाको माया छात्रावासको ।

बाहिरबाट हेर्दा असहज र अस्वभाविक लाग्ने यो छात्रावासमा आश्रय लिईरहेका गरिव तथा विपन्न परिवारका विद्यार्थीहरु भने यो ठाँउमा खुशी र सन्तुष्ट रहेको बताउछन् । दोलखाको बैतेश्वर गाँउपालिका स्थित गैरीमुदी घर भएका १४ बर्षिय अनिल थापा एक बर्ष अघि देखि आमाको माया छात्रावासमा आश्रय लिईरहेका छन् । सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामीक विद्यालयमा कक्षा ८ मा अध्यनरत थापा आमा बुबा दुवै अशक्त रहेको र घरमा बसेर पढ्ने अवस्था नभएपछि आमाको माया छात्रावासमा आश्रय लिन आएको बताउछन् ।


बुबा प्यारालाईसिसको विरामी हुनुहुन्छ, आमाको पनि घुडाको समस्या छ अनि आर्थिक अवस्था पनि निक्कै कमजोर छ त्यसैले केहि असहजनै भएपनि खुशीसाथ बसिरहेको छु – थापाले भने । हिन्दु स्वयमसेवक संघ र जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरेको आमाको माया छात्रावासमा आश्रय लिन आउने विद्यार्थीहरुलाई पढ्न, बस्न र खान निशुल्क व्यवस्था गरिएको छ । छात्रावासमा आउनेहरु कतिलाई उनीहरुकै अभिभावकले ल्याउने गरेका छन् भने कतिपय विद्यार्थी हिन्दु स्वयमसेवक संघ र जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरेको अभियानको क्रममा आउने गरेका छन् ।

रामेछाप मुगिटारका १० बर्षिय बिष्णु खड्का पनि एक बर्ष देखि आमाको माया छात्रावासमा आश्रय लिएर बसेका छन् । बुबा आमा दुबै भएपनि आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र घरमा बसेर पढ्न सक्ने अवस्था नभएपछि छात्रावासमा आश्रय लिन आएको खड्का बताउछन् । आमा बुबाको धेरै याद आउने भएपनि बाध्यताबस आश्रममा बस्नु परेको खड्का बताउछन् ।

विद्यार्थीहरुको संख्याको हिसाबले बस्ने ठाँउ साघुरो र चिसो मौसममा जस्ताको छानाबाट सीत झर्ने समस्या रहेको भएपनि खाने र अन्य सुविधा भने राम्रो भएको आमाको माया छात्रावासमा आश्रय लिई रहेको विद्यार्थीहरु बताउछन् । आफुभन्दा साना विद्यार्थीको अभिभावकको भूमिका समेत निर्वाह गर्दै आएका चितवन भण्डाराका गणेशकुमार प्रजा छात्रावासमा बस्नलाई भवनको केहि समस्या भएपनि अरु सुविधाको हिसाबले राम्रो रहेको बताउछन् । कालिञ्चोक माविमा कक्षा ११ मा अध्यन गर्दै रहेका प्रजा भवनको सुधारको लागि आफुहरुले छात्रावास सञ्चालक संस्थालाई आग्रह गरेको पनि बताउछन् ।

रामकोटमा रहेको आमाको माया छात्रावासको रेखदेख र सञ्चालन गरिरहेको हिन्दु स्वयमसेवक संघ दोलखाका अध्यक्ष शिव केसी ठाँउको अभावको कारण साँघुरो ठाँउमा छात्रावास सञ्चालन गर्नु परेको भन्दै नयाँ भवन निर्माणको लागि जग्गा खोज्ने काम भै रहेको बताउछन् । २०७२ सालको विनाशकारी भुकम्प पछि सञ्चालनमा रहेको आमाको माया छात्रावासमा आश्रय लिईरहेका विद्यार्थीहरुको लागि खाने, बस्ने र पढाउने खर्च बिभिन्न व्यक्ति र संस्थाहरुसंग लिने गरेको र त्यसको हिसाब पारदर्शी ढ्गले राखिएको हिन्दु स्वयमसेवक संघ दोलखाका अध्यक्ष केसीको भनाई छ । आमाको माया छात्रावासमा अहिले दोलखाको अलवा रामेछाप, चितवन, मकवानपुर, नवलपरासि, सिन्धुली, नुवाकोट र पाँचथरका १० देखि १८ बर्ष उमेर समूहका १७ जना विद्यार्थी रहेको र उनीहरु सबै सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामीक विद्यालयमा अध्यन गरिरहेको हिन्दु स्वयमसेवक संघ दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्