मी टू अभियानमा ट्रम्पको ठट्टा



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन उत्पीडनविरुद्ध चलिरहेको ‘मी टू’ अभियानलाई ठट्टामा उडाउँदै उक्त विषयमा आफू नियन्त्रण गरी बसेको बताए।

आफ्नो चर्चित शैलीमा ट्रम्पले उक्त अभियानलाई लिएर हास्यमा उडाउँदै प्रेसद्वारा लागू गरिएको नियमका कारण उनले आफैलाई नियन्त्रण गर्नुपरेको बताए। सर्वोच्च अदालतका न्यायाधिष ब्रेट केवनागको नाम ट्रम्पले अगाडि सार्दा ३ महिलाले केबनागमाथि यौन उत्पीडनको आरोप लगाएका थिए। त्यसबेला पनि ट्रम्पले केबनागको सशक्त समर्थन गर्दै उनलाई विद्वान् न्यायाधिष बताएका थिए।

राष्ट्रपति ट्रम्पले पेन्सिलभेनियामा मध्यावधि चुनावसँग सम्बन्धित र्यालीमा ‘द गर्ल द्याट गट अवे’ उखानको प्रयोग गरे। उनले भने– ‘द गर्ल द्याट गट अवे एक प्रचलित उखान हो तर मी टूको नियमअनुसार … तपाईंहरुले बुझ्नुभएको होला। मलाई अब त्यो उखानको प्रयोग गर्ने अनुमति छैन। म त्यस्तो गर्न सक्दिनँ। अंग्रेजीको उक्त उखान कसैले तपाईंसँग प्रेम गर्छ र उसले छोडेर जान्छ भने उनीहरुका लागि प्रयोग हुन्छ। तपाईं अहिलेसम्म पनि त्यो व्यक्तिलाई प्रेम गर्नुहुन्छ र सम्झिरहनुहुन्छ।’

सञ्चारमाध्यमतर्फ संकेत गर्दै ट्रम्पले मिडियालाई छोडेर बाँकी सबैका लागि त्यो पुरानो र वास्तविक उखानको प्रयोग गरिन्छ। उनले भने– ‘त्यहाँ जो बसिरहेका छन् उनीहरुलाई छाडेर बाँकीका लागि यसको प्रयोग गर्छु। उनीहरुले भन्नेछन्, सुन्नुभो तपाईंले राष्ट्रपति ट्रम्पले के भने, तपाईंले सुन्नुभएन उनले के भने ?

ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले पनि मी टू अभियानअन्तर्गत आरोप लगाउने महिलालाई उनीहरुले उत्पीडनको प्रमाण दिनुपर्ने बताइसकेकी छिन्। सार्वजनिक जीवनमा यौन शोषणको सामना गरेका महिलाहरुले विश्वभरि नै मी टू अभियान चलाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्