बोगटीको बिदाइ



अभिनेता, निर्माता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको बिहीबार अन्त्येष्टि गरिएको छ। उनको गत मंगलबार रुख र बिजुलीको पोलले किच्दा ५८ वर्षको उमेरमा असामयिक निधन भएको थियो।

बोगटीलाई अत्यन्त माया गर्ने छोरी रीमा बोगटी अस्ट्रेलियाबाट बिहीबार काठमाडौं आएपछि बोगटीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो। उनको पार्थिव शरीरमा कान्छो छोरा कविन बोगटीले दागबत्ती दिएका थिए। बोगटीको परिवारमा २ श्रीमती, २ छोरा र २ छोरी छन्। एक छोरा अमेरिकामा छन्। अन्तिम संस्कारअघि श्रद्वाञ्जलिका लागि बोगटीको पार्थिव शरीर केही घण्टा आर्यघाटमा राखिएको थियो। जहाँ कलाकार र उनका शुभचिन्तकले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए। बोगटीलाई राष्ट्रिय झण्डाका साथै कलाकार संघको झण्डा ओढाएर बिदाइ गरिएको थियो।

मंगलबार टीकाथलीस्थित आफ्नो घरबाट कार्यालय जान निस्किएका बोगटीको घरछेउमा उनैले स्थापना गरेको बोगटेश्वर महादेव मन्दिरनजिकको रुख काटेको हेरिरहेका बेला अचानक रुख विपरीत दिशामा ढली बिजुलीको पोलमा ठोक्किएर पोलसमेत ढलेर लागेपछि उनको निधन भएको थियो। कारमा सवार उनी गाडी रोकेर बाहिर ओर्लिई रुख काटेको हेरिरहेका थिए। सबैको सहमतिमा आफैंले काट्न लगाएको रुख अचानक विपरीत दिशातर्फ ढलेपछि छेउमै रहेको ट्रान्समिटरसहितको बिजुलीको पोलसमेत ढलेको थियो भने पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेपछि गम्भीर घाइते भएका बोगटीलाई उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको थियो। अस्पतालले बोगटीको बाटोमै (१२ बजेर २० मिनेटमा) निधन भएको घोषणा गरेको थियो।

‘आफूले काट्न लगाएको रुखले अरुलाई लाग्ला भनेर निरीक्षण गर्न गएको बेला आफंैलाई थिचेपछि उहाँको निधन भयो। समाजसेवा भनेपछि आफ्नो घर नै बन्धकी राखेर लाग्ने उहाँले त्रिपुर समाजमा सदस्यका रुपमा टीकाथलीका लागि धेरै राम्रा काम गर्नुभएको छ। उहाँको निधनले कला क्षेत्रसँगै टीकाथली क्षेत्र नै शोकमा डुबेको छ’, रवीन्द्रले भने– ‘उहाँ कलाकार संघको नेतृत्वमा आइसकेपछि संघको आफ्नै भवन निर्माण गर्न लागि पर्नुभएको थियो। यत्रो वर्षपछि बल्ल कलाकारको आफ्नै भवन बन्ने भयो भनेर हामी खुसी भएका थियौं। उहा”ले २ वर्षको अवधिमा करिब ३०/३२ लाख रुपियाँ जम्मा गरिसक्नुभएको छ। तर आज त्यो खुसी शोकमा परिणत भएको छ।’

बोगटी २ वर्षअगाडि संघको अध्यक्ष पदमा विजयी भएका थिए। ‘नेपाली फिल्म क्षेत्रका लागि निकै राम्रो काम गर्ने उहाँमा कानुनी ज्ञान भएकाले बेलाबेलामा कानुनी सल्लाह दिइरहनुहुन्थ्यो भने आफ्नो क्षेत्रको विकासका लागि धेरै काम गर्नुभएको छ। आफू र आफ्नो हजुरबुबाको नाममा मन्दिर बनाउनुभएको थियो’ –मल्लले भने।

बोगटीले माया गर ल नामक फिल्मको निर्माण गरेका थिए भने स्वाभिमानको प्रस्तुतकर्ता थिए। फिल्म छायांकन कार्यलाई सहज बनाउन आफ्नै निवासमा बोगटी स्टुडियो सञ्चालन गरेका उनले अपराध, धर्मा, दशगजा, म छु नी तिम्रो, रंग बैजनी, लालटिन, मैदान, दोस्ती, नैना रेशम, शपथजस्ता डेढ दर्जन फिल्ममा अभिनय गरेका छन्। करिब ३ दशकसम्म सरकारी अधिवक्ताका रुपमा सेवा गरेका उनले टेलिफिल्म र विज्ञापन फिल्ममा समेत अभिनय गर्दै आएका थिए। नेपाल चलचित्र कलाकार संघले शोक विज्ञप्ति जारी गरी बोगटीको निधनले संघ र कलाकर्मी मर्माहत भएको जनाएको छ। संघकी महासचिव सरिता लामिछानेले बोगटीको आत्माको चीर शान्तिका लागि कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्