दशैँ खर्चिलो नबनाऔं



नेपालीको महान् चाड बडादशैँ शुरु भएको छ । नवरात्र शुरु भएसँगै दशैँको चहलपहल बढेको छ । दशैँ मनाउन र आपूmभन्दा ठूला मान्यजनको हातबाट टीका तथा आशीर्वाद थाप्न घरपरिवारभन्दा टाढा देश–विदेशमा रहेका आफन्तहरु घर फर्कने तयारीमा जुटेका छन् । बजारमा किनमेल गर्नेको भीड बढ्न थालिसकेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा दशैँको लागि खर्च जोहो गर्नेहरुको भीड बढेको छ । विभिन्न कामको लागि शहर बसेकाहरु गाउँ फर्कने तयारीमा छन् । फूलपातीदेखि सार्वजनिक बिदा भए पनि कतिपय कर्मचारीहरु अघि नै घर पुग्नलाई बिदा मिलाउँदै छन् ।

राजधानीबाट मात्र दशैँको लागि २० लाखभन्दा बढी बाहिरिन्छन् । सार्वजनिक यातायातमा अघि–पछिको भन्दा दोब्बर नै भीड देखिन थालिसक्यो । खसी, बोका, राँगा, कुखुरालगायतको व्यापार पनि बढेको छ । दशैँ र तिहार नेपालीको विशेष चाड हो । आमनेपाली यो चाडमा परिवार तथा आफन्त भेटघाट गर्ने र मीठोमसिनो खाने गर्छन् । चाडबाडको लागि भन्दै खाद्यान्नको खरिद बिक्री चौगुणा बढेको छ । चाडबाड लक्षित सुरक्षा योजना भन्दै प्रहरीले विशेष अभियान पनि चलाइरहेको छ । तर लुटपाट, चोरी, पकेटमारीका घटना भने बढिरहेका छन् । दशैँ मनाउन भारतबाट आएका नेपालीहरु लुटिएको समाचार दिनदिनै आइरहेको छ । प्रहरी संरक्षणमा तास–जुवाका खालहरु बढ्न थालेको छ । मदिरा सेवन तथा मदिराको बिक्री वितरण पनि बढेको छ । प्रहरीले यसमा निगरानी बढाउन सकेको छैन ।

दशैँ मनाउन घर जाने यात्रुहरुले सहजरुपमा सार्वजनिक यातायातको सेवा पाउन सकेका छैनन् । विगतको जस्तै यो वर्ष पनि चाडबाड मनाउन आफ्नो गाउँघर जाने यात्रुहरुले सास्ती पाउने निश्चित छ । यातायात व्यवसायीहरुले मनलाग्दी भाडा असुल गर्न थालिसकेका छन् । बजारमा महँगी बढेको छ । गुणस्तरहीन खाद्यान्नको बिक्री वितरण भैरहेको छ । तर प्रभावकारी अनुगमन हुन सकेको छैन । चाडबाडमा ऋण काढेर भए पनि रकम जोहो गरी पर्याप्त खर्च गर्ने आमनेपालीको चलन छ । यसको कारण पनि कालाबजारियाहरुलाई ठगी गर्न सजिलो भएको छ । सरकारी कर्मचारीहरुले पनि दशैँ मान्ने चटारोमा भएकाले चाडबाडमा हुने यस्ता अनेकौं समस्या समाधानमा चासो देखाएको पाइँदैन ।

चाडबाडमा ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण पाटो स्वास्थ्य हो । आवश्यकभन्दा बढी खाने, माग धेरै भएपछि बासी, सडेगलेका खानेकुरा बिक्री वितरण हुने मात्र हैन, स्वयम् आफैंले पनि स्वस्थ खानामा ध्यान नपु¥याउने हुँदा धेरै बिरामी हुने समस्या आउँछ । दशैँमा आवश्यक्ताभन्दा पनि देखासिकी गर्ने कारणले पनि आमनागरिकको फजुल खर्च धेरै भएको पनि पाइन्छ । दशैँलाई सभ्य तरिकाले मनाऔं तर भड्किलो र खर्चिलो नबनाऔं । यो वातावरण बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याऔं ।

प्रतिक्रिया दिनुहोस्