चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य



काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत चीनले नेपाललाई जितका लागि २७  रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीन १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो  ।

अघिल्ला चार खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा पुगिसकेको नेपालले पाँचौ खेलमा चीनको सामना गरिरहेको हो ।

नौलो प्रतिद्वन्द्वी चीनविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार पाँचौ जित निकाल्नु हुनेछ । छनोटमा हालसम्मको नतिजा र प्रदर्शन हेर्दा कमजोर टिम चिनविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्ने छैन । किनकि प्रतियोगितामा नेपालले लगातार जित निकालिरहेको छ भने चीनले अहिलेसम्म जित निकाल्न सकेको छैन ।

छनोटमा नेपाल ४  खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ । यता,  चीन भने ४ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । नेपालले दुई खेल अगाबै दोस्रो चरणको छनोटमा समेत स्थान पक्का गरिसकेको छ ।

नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । महिला क्रिकेटमा नेपाल र चीनबीच प्रतिस्पर्धा भईसकेको छ । तर, पुरुष क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।

चीनपछि नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्