लक्जम्बरमा विद्युत् कम्पनीविरुद्ध उजुरी दर्ता



नेपाल समाचारपत्र, लमजुङ
लमजुङबासी वादी रहने गरी विद्युत कम्पनीमा लगानी गर्ने युरोपियन युनियन बैँकका विरुद्ध लक्जम्बरमा उजुरी दर्ता गरिएको छ । अनलाईनबाट उक्त उजुरी गर्दा गरिएको सरोकारवालाहरूले अर्र्धमूमिगत शैलीमा पत्रकार सम्मेलन गरी सोमबार जानकारी दिएका छन् ।

युरोपियन संघको बैँकद्वारा मस्र्याङ्दी करिडोरमा निर्माणाधिन विद्युतको २२० केभी लाइनमा लगानी रहेको छ, त्यो पैसाले यहाँका सर्वसाधारणको अधिकार हनन हुने काम गरिएको हुँदा उजुरी दर्ता गरेको स्वतन्त्र अग्रिम जानकारी सहितको सहमति तथा अधिकार मञ्च लमजुङका जिल्ला संयोजक खेमजंग गुरुङले बताउनु भयो । उहाँका अनुसार युरोपियन युनियनको लगानी रहेको बैँकले मस्र्याङ्दी करिडोरमा करिब एक सय युरो वराबरको लगानी रहेको छ । यस प्रकारको उजुरी गरिएको नेपालको इतिहासमा पहिलो हो ।

सो उजुरीमा आफू र मञ्चका जिल्ला सचिज चन्द्र मिश्रले दस्तखत छ गुरुङले जानकारी दिनु भयो । सो उजुरी उक्त बैँकको खबदारी गर्ने स्वतन्त्र निकायको लक्जम्बर स्थित कार्यालयमा दर्ता गरिएको गुरुङले पत्रकारहरूलाई बताउनु भयो । उहाँका अनुसार सो उजुरी दर्ता गर्ने कार्य नेपालका आदिवासी जनजातिहरूको मानव अधिकार सम्बन्धि वलिक समूह(लाहुरनिप)का सचिव अधिवक्ता शंकर लिम्बुमार्फत भएको हो ।

आदिवासी जनजाति दिवसका दिनमा ध्यानाकर्षण गरी त्यसको प्रतिक्रिया स्वरुप आज उजुरु दर्ता गरिएको गुरुङले बताउनु भयो । ध्यानाकर्षण पछि सो बैँकबाट तपाईहरूले उठाएका कुराहरू ‘जेनुयन’ भन्दै रेस्पोन्स गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘यो विचमा सरकारका मानिसहरू नीतिगत परिवर्तन गरी आफूहरूलाई असफल बनाउने षडयन्त्रमा लागेको र आफूहरूका विरुद्धमा अनावश्यक निगरानी राख्न थालेका अनुभूति गरेका छौँ ।’

मस्र्याङ्दी करिडोरमा लमजुङ, मनाङ, गोर्खा, चितवनदेखि नवलपुरसम्म प्रशारण लाइन रहेको र ती सबै क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । सो लाइन निर्माण गरेवापतमा यस क्षेत्रका बासिन्दाको राहतका लागि छुट्याइएको सामाजिक उत्तरदायित्व कार्यक्रमको रकम एक करोड ६४ लाख रुपैयाँ कागजमात्र मिलाएर खाने काम भएको चन्द्र मिश्रले बताउनु भयो । उहाँका अनुसार त्यसमध्येको ५८ लाख रुपैयाँ हामीले फेला पारिसकेका छौँ । जसमा ९ लाख रुपैयाबाट मौरी पालन तालिम तथा १२ लाखका दरले वायरिङ, बेकरी एण्ड कुकिङ र मोवाइल मर्मतको तालिमका लागि छुट्याइएको ३६ लाख रुपैयाँ पनि कागजमा मात्र खर्चिएको पत्ता लागेको छ मिश्रले भन्नुभयो ।

उहाँका अनुसार ७ लाख ५० हजार रुपैयाँको बेसीशहर नगरपालिका– ११ को चौरमा विभिन्न प्रजातिका ३३ सय विरुवा बृक्षारोपण गरिएको भनिएकोमा एउटै विरुवा रोपेको भेटिएन । अन्य रकम पनि कहाँ खर्चिएको रहेछ हामी खोज्दैछौँ र यो बारेमा अख्तियारमा उजुरी समेत परेको छ मिश्रले बताउनुभयो । उहाँका अनुसार मनाङदेखि लमजुङको उदीपुर खण्डमा मात्र ९१ परिवार प्रत्यक्ष र अन्य करिब दुई हजार परिवार अप्रत्यक्ष प्रभावित भएका छन् । यसरी मनाङदेखि नवलपुरसम्मका पीडितको संख्या ठूलो रहेको मिश्रले जानकारी दिनुभयो ।

हाम्रो यो कदमपछि सर्वसाधारणलाई राहत मिल्छ, उहाँहरूको हक दिलाएरमात्र हामी विश्राम लिने अध्यक्ष खेमजंग गुरुङले बताउनु भयो । गुरूङ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत हुनुुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्