नेकपाभित्र चुलिदै विवादः पार्टीभित्र नेपालको फरक मत



मधुसूदन रायमाझी, काठमाडाैं ।
नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको छ ।

पार्टी एकताको विषयलाई लिएर आन्तरिक विवाद चुलिदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद सुरु भएको छ ।

पार्टी एकता प्रक्रिया टुंगो लगाउन ढिलाई भएसँगै नेताहरुको स्वार्थका कारण विवाद थपिदै गएको छ । पार्टी एकतापछि सचिवालयको बैठकले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउनका लागि प्रदेशस्तरको कार्यदल गठन गरेको थियो ।
अधिकाशं प्रदेशले महासचिव विष्णु पौडेललाई नेतृत्व चयन गर्न सिफारिस गरेको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलाई महासचिव पौडेलले पार्टीको सचिवालय बैठकमा पेश पनि गर्नुभएको थियो । तर प्रदेशले सिफारिस गरेको नामप्रति वरिष्ठ नेता नेपालले आपत्ति जनाउनुभएको थियो ।

नेपाल विदेश भ्रमणमा रहेकै बेला प्रदेश नेतृत्वको टुंगो लगाएपछि नेता नेपालले पार्टीभित्रको विवाद संसददेखि छुट्टै भेला हुँदै लिखित रुपमा नै पार्टीको बैठकमा फरक मत राख्नु भएको छ । पार्टी एकता प्रक्रियामा जुट्नु पर्ने शीर्ष नेताहरुबीच नै असमझदारी भएपछि अध्यक्षद्धय अहिले नेता नेपाललाई मनाउने गृहकार्यमा जुट्नु भएको छ ।

बैठकमा विदेश भ्रमणको चर्चा

पार्टी एकता गर्दा तीन महिनाभित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेपनि चार महिना वितिसक्दा समेत एकताको सुरुवात हुन सकेको छैन् । पार्टी एकताको क्रममा पूर्व एमाले र पूर्व माओवादी केन्द्र कसले नेतृत्व लिने रस्साकस्सी चलेको छ भने दुई पार्टीभित्र रहेको गुटको कारण पनि एकता प्रक्रिया जटिल बन्दै गएको नेकपाका एक नेताले बताए ।

एकता प्रक्रियालाई टुंगो लगाउन सोमवार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता नेपालको लिखित असहमति पत्र दर्ता गराउनुभएको छ । आगामी बैठकमा उक्त लिखित असहमति पत्रमाथि छलफल गर्ने गरी बैठक सम्पन्न भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले नेता नेपालको असहमतिपत्रका बारेमा छलफल गर्ने निर्णय गरेको छ । प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष,सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गर्नुभएको छ । यही असोज २४ गते बस्ने बैठकमा पार्टी एकताको प्रक्रिया अगाडि बढाईने भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अमेरिका भ्रमण, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपाल र नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे ब्रिफिङ गर्नुभएको थियो । प्रवक्ता श्रेष्ठले अब बस्ने सचिवालयको बैठकमा स्थायी कमिटी बैठकको एजेण्डा र मितिबारे समेत छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्