को बन्छ करोडपति चलाउँदै हमाल



अन्तर्राष्ट्रियरूपमा लोकप्रिय बौद्धिक टेलिभिजन रियालिटी शो हु वान्ट्स टु बी ए मिलिनेयरको नेपाली संस्करण को बन्छ करोडपति नेपाल अभिनेता राजेश हमालले सञ्चालन गर्ने भएका छन्। भारतमा लोकप्रियता हासिल गरेको कौन बनेगा करोडपति नेपालीमाझ लोकप्रिय रहेकाले आफूले यसको नेपाली संस्करण सञ्चालन गरेको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा हमालले बताए।

यो रियालिटी शो विश्वका १ सय ६१ देशबाट फ्रेन्चाइजको रूपमा प्रशारण हुँदै आएको छ। नेपाली संंस्करणका रूपमा केबीसी नेपाल (को बन्छ करोड पति नेपाल) अगामी मंसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजनमार्फत प्रसारण हुनेछ।

‘अन्तर्राष्ट्रियरूपमै लोकप्रियता हासिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ। को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीलाई बौद्धिकसँगै आर्थिकरूपमा पनि धेरै हदसम्म सबल बनाउनेछ’, हमालले भने– ‘शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी छु।’ कार्यक्रममा को बन्छ करोडपति नेपालको प्रोमो पनि रिलिज गरिएको छ। प्रोमोमा ‘नमस्कार नेपाल, तपार्इंहरू सञ्चै हुनुहुन्छ’ भन्दै कौन बनेका करोडपतिका सञ्चालक एवं बलिउड बिग बी अमिताभ बच्चनले को बन्छ करोडपतिलाई सफलताको शुभकामना व्यक्त गरेका छन्।
को बन्छ करोडपति कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया पनि शुरू गरिएको आयोजकले जानकारी गराएका छन्। आयोजक विपीनकुमार आचार्यले नेपालीलाई गेम खेलाउँदै आर्थिकरूपमा समृद्ध र अझ बौद्धिक बनाउन को बन्छ करोडपति नेपाल कार्यक्रम टेलिभिजनमार्फत सञ्चालन गर्न लागेको बताए।

प्रतिक्रिया दिनुहोस्