वर्तमान सरकार र पार्टीभित्रको विवाद



डा. डीआर उपाध्याय
वर्तमान सरकारले सोचेअनुसारको काम गर्न नसकेको सत्तारुढ दलकै शीर्ष नेताहरुले बताउँदै आएका छन् । सत्तारुढ दलकै शीर्ष नेताहरु सरकारको विरोधमा बोलेपछि जनता निराश हुनु स्वाभाविक नै हो । अहिले जनता धेरै निराश छन । वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न सकेको छैन । देशमा शान्ति सुरक्षा हुन सकेको छैन । मूल्य वृद्धि बढेको छ ।

विकास निर्माणका काम हुन सकेका छैनन् । जनतालाई चुनावका बेलामा जे कुरा बोलिएको थियो, अहिले ती कुरा पूरा हुन सकेका छैनन् । लामो लडाइँ लडेर यत्रो परिवर्तन ल्याइयो तर त्यसको परिणाम दिन भने दलहरुले सकेनन् । यही बेलामा कम्युनिस्टको दुई तिहाई बहुमतसहितको सरकार छ । तर यो सरकारले सोचेअनुसार जनताको काम गर्न नसक्नाले आलोचित बनेको अवस्था छ । अब सरकार सर्वसाधारणको हितका लागि तीव्र गतिका साथ अघि बढ्नुपर्छ ।

पार्टी मिल्ने तर पद नमिल्ने भएपछि फुट्ने परम्परा कम्युनिस्ट पार्टीमा हुने गरेको छ । अहिले पनि यही अवस्था आइपरेको हो भने मुलुकको लागि ठूलो दुर्भाग्य हो । अवश्य पनि पार्टीभित्र विचार र कार्यशैलीमा विविधता हुन्छ, बहस हुन्छ, छलफल हुन्छ । यो जरुरी कुरा पनि हो । तर पार्टीले सरकार चलाउनुपर्नेमा उल्टो सरकारले पार्टी चलाउन थाल्यो भने समस्या आउन सक्छ ।

जनताको काम हुन नसकेपछि जनतामा निराशा छाएको छ । सबैले सरकारको आलोचना गरिरहेका छन् । सरकारको आलोचना हुनु भनेको जनताको असन्तुष्टि हो । जनतामा असन्तुष्टि आउन दिनुहुँदैन । जनता असन्तुष्टि हुनु भनेको यो व्यवस्थामाथि नै खतरा हो । त्यसकारणले गर्दा राजनीतिक दलहरु र तिनका नेताहरु जनता र देशप्रति इमानदार हुनुपर्ने आवश्यकता देखिएको छ । जनताले अझै विकल्प खोजेका छैनन् । त्यो स्थिति आयो भने ठूलो खतरा हुने सम्भावना छ ।

धेरै शक्तिहरु यति बेला आफ्नो स्वार्थका लागि लडिरहेका छन् । सरकारले आफ्ना कमी–कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बेला आएको छ अहिले । आजसम्म जे–जस्ता कमी–कमजोरी भएका छन्, ती सबै सच्याएर सरकारले काम गर्नुपर्छ । यो सरकारको विकल्प देखिँदैन र विकल्प खोज्नु पनि हुँदैन । पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतमलगायतका नेताहरुले यो सरकारको विकल्प खोजिरहेको देखिन्छ । त्यो स्थिति आयो भने मुलुकमा संकट निम्तिन सक्ने खतरा देखिएको छ । सरकारले जनताको काम नगर्दा स्थिति बिग्रँदो छ । स्थिति बिग्रन दिनुहुँदैन ।

अहिलेको बेथिति सुधारका लागि पार्टीभित्र गम्भीर छलफल चलाउनुपर्छ । सरकारको आलोचना गर्नै हुँदैन भन्ने होइन, आलोचना पनि गर्नुपर्छ । किनकि यो लोकतन्त्र हो । सरकारको आलोचना भएन भने सरकार निरंकुश हुन सक्छ । सरकारलाई निरंकुश हुन दिनुहुँदैन । सरकारले जनताका कुरा सुन्न सिक्नुपर्छ । अहिलेको अवस्थामा सरकार दुई तिहाइको दम्भ देखाएर बसिरहेको छ । यो पाराले देशको विकास र समृद्धि सम्भव छैन । देशको विकास र समृद्धिका लागि इच्छाशक्तिको खाँचो हुन्छ ।

त्यो अहिलेसम्म सरकारमा देखिएन । यतिखेर नेकपामा धेरै समस्या आएको संकेत देखिन्छ । मुलुकको ठूलो पार्टी नेकपामा विवाद हुनु भनेको देशको राजनीतिमा नै उथलपुथल आउनु हो । ठूलो पार्टी भएपछि समस्या हुनु स्वाभाविक हो । यसलाई स्वाभाविकरुपमा लिनुपर्छ । नेकपाको जिल्ला–जिल्लामा विवाद छ । विवादले समस्या समाधान हुन सकेको छैन । यस्तो भएपछि यो पार्टी कसरी बलियो हुन्छ ? झलनाथ खनालले भन्नुभएको छ– यो डुंगा पल्टिन सक्छ । दुर्घटना हुन सक्छ । आखिर के छ रहस्य ? जनताले बुझ्न चाहेका छन् ।

पार्टी मिल्ने तर पद नमिल्ने भएपछि फुट्ने परम्परा कम्युनिस्ट पार्टीमा हुने गरेको छ । अहिले पनि यही अवस्था आइपरेको हो भने मुलुकको लागि ठूलो दुर्भाग्य हो । अवश्य पनि पार्टीभित्र विचार र कार्यशैलीमा विविधता हुन्छ, बहस हुन्छ, छलफल हुन्छ । यो जरुरी कुरा पनि हो । तर पार्टीले सरकार चलाउनुपर्नेमा उल्टो सरकारले पार्टी चलाउन थाल्यो भने समस्या आउन सक्छ । त्यसैले यस विषयमा भने सत्ताधारी पार्टी संवेदनशील बन्नै पर्छ । माओवादी केन्द्र र एमाले पार्टी मिलेर ठूलो पार्टी नेकपा बन्यो ।

अब यो पार्टीलाई कसरी चलाउने, नेता–कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने भन्ने विषय नै मूल कुरा हो । तल्लो तहदेखि माथिको तहसम्म पदको विषयलाई लिएर पार्टीभित्र ठूलो विवाद हुँदै आएको छ । विधि, प्रक्रिया र मापदण्डका आधारमा पार्टी चलाउने काम तलसम्म भयो भने पार्टी बलियो बन्ने कुरा निश्चित छ । यदि विधि, प्रक्रिया सबै कुरा मिचेर नेतृत्व अघि बढ्यो भने निश्चितरुपमा पार्टी कमजोर हुन्छ । शुरुवाती दिनमा यो पार्टीको जनताले ठूलो आश पनि गरेकै हुन् । त्यसमाथि पार्टीले सरकार पनि चलाएको छ । सरकारप्रति जनता त्यति सन्तोष छैनन् ।

सरकारले जनभावनाअनुसार काम गर्न नसकेकै हो । देशमा महँगी बढेको छ । भ्रष्टाचार मौलाएको छ । सुशासन कायम हुन सकिरहेको छैन । देशमा व्यवस्था धेरै बदलियो, जनताको अवस्था बदलिन सकेको छैन । जनताको अवस्था धेरै नाजुक बन्दै गएको छ । सरकारले कुरा मात्र गर्ने, काम नगर्ने हो भने विकास र समृद्धिको सपना सबै चकनाचुर हुनेछ । सबैभन्दा पहिला पार्टी बलियो हुन जरुरी छ । पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ । भावनात्मक एकताको सन्देश दिन पार्टीले सक्नुपर्छ । त्यसो भयो भने मात्र नेकपा बलियो हुन्छ ।

केपी, प्रचण्ड, माधव, झलनाथ, बामदेव, नारायणकाजीबीचको भावनात्मक एकता बलियो बन्यो भने पार्टीको भविष्य उज्ज्वल छ । यी नेताहरुबीच विवाद र ध्रुवीकरण बढ्दै गयो भने पार्टीको भविष्यमाथि प्रश्न उठ्ने निश्चित छ । पार्टी भनेको समूह हो, व्यक्ति होइन । पार्टी व्यक्ति–व्यक्ति मिलेर निश्चित सिद्धान्तको आधारमा बनेको हुन्छ । पार्टीको निर्यण सामूहिक हुन्छ । संस्थागत ढंगले निश्चित विधि, पद्धति र मापदण्डका आधारमा पार्टी अघि बढ्ने हो भने पार्टीभित्रको सम्पूर्ण समस्याको समाधान हुन्छ ।

अहिले विधि, प्रक्रिया, पद्धति र मापदण्डका आधारमा पार्टी नचलेको गुनासाहरु नेता–कार्यकर्ताबाट आउन थालेका छन् । अब पार्टीलाई बलियो बनाएर लैजानुपर्ने आवश्यकता नेतृत्वसामु देखिएको छ । यो पार्टी कमजोर बन्दा लोकतन्त्र कमजोर बन्ने खतरा बढ्न सक्छ । लोकतान्त्रिक शक्तिहरु कमजोर बन्नुहँुदैन र कमजोर बनाइनु पनि हुँदैन । अहिले धेरै शक्तिहरु यो व्यवस्था असफल बनाउने खेलमा लागिरहेका छन् । त्यसकारणले पनि लोकतन्त्रवादी शक्तिहरु चनाखो बन्नुपर्ने आवश्यकता देखिएको छ । तराई मधेस केन्द्रित दलहरु संविधान संशोधन र रेशम चौधरीको रिहाको विषयलाई प्रमुख मुद्दा बनाएर अघि बढ्ने सोचमा छन् ।

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने कुरा गरिरहेका छन् । विप्लव माओवादी अर्धभूमिगत शैलीमा आफ्ना गतिविधि चलाइरहेको छ । सरकारले वार्ताको आह्वान गरे तापनि विप्लव समूहदेखि कुनै पनि असन्तुष्ट समूह औपचारिकरुपमा वार्तामा बसेको अवस्था देखिँदैन । यो पनि एउटा समस्या हो । कुनै पनि समस्याको समाधान वार्ताको माध्यमबाट नै हुन्छ । दश वर्षसम्म युद्ध लडेको तत्कालीन माओवादी त वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिक मूलधारमा आयो भने अरु नआउने कुरै छैन । अन्तिममा समस्याको समाधान नै वार्ता हो ।

अब दलहरु मिलेर जानुपर्ने आवश्यकता देखिएको छ । लोकतन्त्रवादी शक्तिहरु मिल्नुको विकल्प छैन । विगतमा पनि मिलेर नै यति धेरै उपलब्धि प्राप्त भयो । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न पनि लोकतन्त्रवादी शक्तिहरु सहकार्यको राजनीतिमा अघि बढ्नुपर्छ । यो नै आजको आवश्यकता हो । सरकारले जनताको भावनाअनुसार काम गर्दै जानुपर्छ । किनभने जनतामा निराशा आयो भने लोकतन्त्र खतरामा पर्न सक्छ । सरकारले जनतामा आशा जगाउने खालका काम गर्नुपर्छ ।

त्यसो भयो भने मात्र सरकार सफल हुन्छ । सरकार असफल बनाउने काममा केही तत्व लागिरहेका पनि छन् । यो सरकार असफल हुनुहुँदैन । यो सरकारले नै पूरै अवधि सरकार चलाउनुपर्छ । अर्को सरकार विकल्प हुन सक्दैन । सरकार तल–माथि भयो भने लोकतन्त्रमाथि नै खतरा हुन सक्छ । यस कुरामा कम्युनिस्ट पार्टीसहित अन्य पार्टीले समेत ध्यान दिनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्