सरकारबाट प्रेरित एन्फा



अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व पनि कुनै राजनीतिक दल भन्दा कमजोर छैन, कार्ययोजना सुनाउन एन्फा पदाधिकारी दलका नेता भन्दा निकै अब्बल छन् । वर्षौसम्म एन्फामा एकछत्र राज गरेका गणेश थापाका कारण नेपाली फुटवलको लगानी बालुवामा पानी भयो भन्नेहरु अहिले नेतृत्वमा आएपनि नतिजा २०को १९ हुन सक्या छैन ।

गत बैशाखमा कर्मा छिरिङ शेर्पा एन्फा अध्यक्ष बने त्यति मात्रै हो र, उनको पुरै प्यान कार्य समितिमा चुनियो । तर एन्फाको हालत दुई तिहाई बहुमत पाएको अहिलेको बामपन्थी सरकार भन्दा कम छैन । सरकारको कार्यशैलीबाट प्रेरित भएर हो क्यार, शेर्पा योजना सुनाउन अब्बल छन्, तर परिणाम बालुवामा पानी नै भएको छ । एन्फामा थापा रहेसम्म फुटवलको विकास कुनै पनि हालतमा हुनै नसक्ने दावी गर्ने शेर्पाले नेतृत्व आएपनि फुटवलले कुनै माखो मार्न सक्या छैन ।

बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा ताजाकिस्तानसँग पराजित नेपाल त्यस अघि बंगलादेशमै सम्पन्न साफ च्याम्पियनसीपमा साफै भएको थियो । एक महिना अघिको एसियन गेम्स्मा पनि नेपाल निकै विचरा बन्यो, अहिले भुटानमा चलिरहेको यू–१८ महिला फुटवलमा हालत उस्तै बन्यो । एकपछि अर्को नजिता खस्किरहेको देख्दा शेर्पा र उनको समुह भन्दै होला–‘थापाको छत्रछायाँ अझै बाँकी भएकाले सोचेजस्तो हुन सक्या छैन ।’

प्रतिक्रिया दिनुहोस्