सरकार आलोचित मात्र



मुलुक संघीय संरचनामा गएपछि तीन तहको सरकार निर्माण भएको छ । संघीय, प्रान्तीय र स्थानीय तीनै तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व छ । संघीय सरकारमा दुई तिहाइ बहुमतको सरकार छ । प्रान्तीय सरकारमा पनि सात प्रदेशमध्ये छ प्रदेशमा नेकपाकै बाहुल्यता छ । ७ सय ५३ मध्ये अधिकांश स्थानीय तहमा नेकपाकै नेतृत्वको सरकार छ ।

स्थानीय सरकार गठन भएको एक वर्ष पूरा भैसक्यो । प्रदेश र संघीय सरकार निर्माण भएको पनि सात महिना भैसक्यो । तीनै तहमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रभावकारी उपस्थिति छैन । निर्वाचनमा ठूलै सपना बाँडेर बहुमत प्राप्त गरेको तीनै तहको सरकारप्रति आमजनताको भरोसा थियो । आमजनताको चाहना पूरा गर्ने मात्र हैन, देशलाई विकास र समृद्धिको दिशातर्फ द्रुतगतिमा अघि बढाउने कुरामा कतै रोकतोक थिएन ।

देशभर बलात्कार, महिला हिंसाका घटना बढिरहेका छन् । महँगी नियन्त्रण हुन सकेन । कर आतंक बढेको छ । भ्रष्टाचार गाउँ तहसम्म मौलाउँदै गएको छ । शान्ति सुरक्षाको झन्–झन् अवस्था नाजुक हुँदै गएको छ । सुशासनको कुरा नारामै सीमित भएको छ । राष्ट्रियतामाथि धावा बोल्नेहरु झन् हौसिँदै गएका छन् । अदालतले कावार्ही गर्नु भनेका अपराधीहरुलाई सरकारले संरक्षण दिएको छ । जताततै बढ्दै गएको अनियमितता नियन्त्रणमा सरकारले ध्यान दिएको छैन । आलोचना, गल्ती, कमी–कमजोरी सरकार सुन्नै चाहँदैन ।

जनताको चाहना एकातिर तर सरकारको गति अर्कोतिर छ । अहिलेसम्म तीनै तहको सरकारले गरेको काम कार्वाही हेर्दा निराशाबाहेक केही छैन । सरकारले केही त राम्रो काम गरेको छ भन्ने ठाउँ कतै छैन । सरकार गठन हुँदा देखिएको आशा र उत्साह निराशामा परिणत हुँदै गएपछि जताततै सरकारको आलोचना मात्र भैरहेको छ ।

इतिहासमै सबैभन्दा शक्तिशाली मानिएको वर्तमान सरकारविरुद्ध संवैधानिक निकाय जताततै राजनीतिक हस्तक्षप गरेको मात्र हैन न्यायालयलाई समेत आफ्नो भ्रातृ संस्था बनाउन लागेको जस्तो गम्भीर आरोपसमेत प्रमुख प्रतिपक्ष दलले लगाइरहेका छन् । भ्रष्टाचार रोक्नभन्दा पनि बढाउन लागेको भन्दै सरकारसँग आमजनताको भरोसा टुट्दै गएको छ । स्वयम् सत्ताधारी दलहरुका शीर्ष नेताहरुले समेत चर्को आलोचना गर्न थालिसकेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आलोचना गर्दा विपक्षीहरुको धर्म निभाएका हुन् भनेर सस्तो जवाफ फर्काउन सकिएला । तर, आफ्नै पार्टीभित्रबाट सरकारको काम कार्वाहीप्रति असन्तुष्टि आउनु निकै गम्भीर कुरा हो । यसरी चौतर्फी आएको सरकारको आलोचनाले दुई तिहाइको सरकार असफलतातर्फ उन्मुख भएको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्