दशैं मनाउन आएका नेपाली बसमै मृत



बाँके ।
भारतको सीमलामा काम गरेर दर्शै मनाउन घर फर्किएका एकजना मृत भेटिएका छन् ।
युके ०७ पीए १४६२ नम्बरको बसमा सीमलादेखि रुपैडिहा आइरहेका सुर्खेत गुमी–१ का ७० वर्षका हर्कबहादुुर नेपाली मृत भेटिएका हुन् । दम र खोकीको औषधीसमेत साथमा भेटिएका नेपालीको बसमा कतिबेला मृत्यु भयो खुलेको छैन ।

रुपैडिहामा आइपुग्दा मृत भेटिएपछि नाकामा रहेको जमुनाहा प्रहरीलाई खबर गरिएको थियो । जमुनाहाबाट गएको प्रहरी र रुपैडिहाका प्रहरीले नेपालीको झोला हेर्दा दम र खोकीको औषधी, दुई हजार ६ सय रुपैया भारतीय रुपैया फेला परेको छ ।

दशैं मनाउन घर फर्किने नेपालीको चाप बढिरहेको बेलामा लुटेराको बिगबिगी बढ्ने गर्दछ । बृद्धको हकमा भने लुटेराको हात नदेखिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज शिव ओलीले बताउनुभयो । ‘झोलामा औषधी रहेकाले उनी दम र खोकीको बिरामी देखिन्छन् । बसमा आउदा के भएर मृत्यु भयो, बुझ्दैछौ, ओलीले भन्नुभयो, घरपरिवारलाई खबर गरिसकेका छौं । आउदैछन् ।’ बृद्धको शवलाई पोष्टमार्टमका लागि रुपैडिहा प्रहरीले बहराइच पठाएको छ ।

नेपालीहरुको महान पर्व दर्शैलाई घरमा परिवारका साथ हाँसीखुशी मनाउन कमाई गरेर फर्किएका नेपालीको मृत्यु भएको हो । सीमलाबाट रुपैडिहा आएको बसमा नेपालीहरु धेरै रहेपनि नेपालीलाई चिन्ने कोही थिएनन् । उनी बसमा एक्लै चढेको पाइएको छ ।

साविकको मध्यपश्चिमका पहाडी जिल्लाका मानिसहरु फुर्सदमा भारतमा गएर कमाई गर्ने र खेती लगाउने बेला तथा चाडबाडमा घर फर्किने गर्दछन् । यतिबेला नेपालगञ्ज नाकामा दशैमा घर फर्किनेको लर्को नै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्