चाडपर्वको बेला सहुलियत पसल नहुँदा उपभोक्ता मारमा



धनवीर दाहाल, रुकुम ।
दशैं र तिहार जस्ता ठूला चाडपर्वको बेला रुकुम पश्चिममा सहुलियत मूल्य पसलको व्यवस्था नहुँदा उपभोक्ता मारमा परेका छन् । चाडपर्वको समयमा सदरमुकाम मुसिकोट लगायत आसपासका बजारमा कालोबाजारी हुन सक्ने भन्दै जिल्लाका उपभोक्तालाई चिन्ताले पिरोल्न थालेको छ ।

 

दशैं तिहारलाई चाहिने खाद्य सामग्री खरिदका लागि गाउँबाट सदरमुकाम आउनेको संख्यामा पनि वृद्धि हुन थालेको छ । तर सदरमुकाम मुसिकोटमा उपभोक्ताका लागि सहुलियत मूल्य पसलको व्यवस्था नहुँदा दैनिक उपभोग्य सामग्री लगायत खरिदमा समस्या देखिएको छ । चाडपर्वको समयमा बजारमा कालोबजारी हुन सक्ने भन्दै यहाँका कतिपय उपभोक्ताहरुले चाडपर्वको बेला सहुलियत मूल्य पसलको व्यवस्था गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सरकारले देशका मुख्य सहरमा दशैतिहारलाई लक्षित गरेर सहुलियत मूल्य पसलको स्थापना गर्दै आएको छ । तर रुकुम पश्चिमको मुसिकोटमा हालसम्म सहुलियत मूल्य पसलको व्यवस्था छैन । उपभोक्ताले चाडपर्वको बेला महंगो मुल्यमा दशैंका लागि आवश्यक सामग्री खरिद गर्नुपर्ने बाध्यता रहँदै आएको छ । सहुलियत मूल्य पसल संचालनका लागि जिल्लामा त्यस्तो कुनै निर्देशन नआएकोले नीजि स्तरमा रहेका ब्यापारीबाट समेत कालोबजारी हुन सक्ने भएकोले नियमित अनुगमण गरिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

विशेष चाडपर्वको बेला जिल्लामा सुपथ मूल्य पसल नभएकै कारण त्यसको फाईदा नीजि स्तरका व्यापारीले लिंदै आएका छन् । उद्योगी व्यापारीहरुको छाता संगठनले पनि सहुलियत मूल्य पसल सञ्चालनको विषयमा कुनै जानकारी नभएको बताउँदै आएको छ । अब यस विषयमा जिल्लामा रहेका व्यापारीहरुले सहुलियत मूल्य पसल नीति अबलम्बन गरेर चाडपर्वको अवसरमा उपभोक्ताहरुका लागि थप सुविधा दिनुपर्ने रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुनको भनाई छ । दशैं तिहार लगायत विशेष चाडपर्वको समयमा हुने सक्ने कालोबजारी अन्त्यका लागि उपझोक्तालाई लक्षित गरेर दुर्गममा पनि सहुलियत मूल्य पसलको व्यवस्था गर्न तर्फ नेपाल सरकार र सम्बन्धित निकायले ध्यान दिने हो भने उपभोक्तालाई सहज हुने बिश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्