प्रदेश–३ मा ‘सोच’ कार्यशाला, प्रदेश विकासको खाका तयार



हेटौंडा ।
प्रदेश–३ को नीति तथा योजना आयोगको आयोजनामा हेटौंडामा २ दिने प्रदेश विकासको आधारपत्र निर्माण सम्बन्धि ‘सोच निर्माण कार्यशाला’ भएको छ ।

कार्यशालामा प्रदेशको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, बन तथा वातावरण र संस्थागत विकासका विविध आयाम र विभिन्न उपक्षेत्रगत विषयमा छलफल भएको थियो । छलफलमा प्रदेशको विषय क्षेत्रगत् वस्तुस्थिति तथा अधिकार क्षेत्र, विकासका सम्भावना र चुनौतीको पहिचान तथा विश्लेषण गरिएको थियो । छलफलमा प्रदेश विकासको सोच, विषय क्षेत्रगत् विकासका लक्ष्य र उद्धेश्यहरुको खाका तयार गरिएको छ ।

कार्यशालापछि प्रदेशका विभिन्न भागमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु एवम् विषयविज्ञसँग थप परामर्श र छलफल गरी प्रदेशको विकासका लागि आधारपत्रलाई अन्तिम रुप दिइने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देबकोटाले बताउनुभयो ।

कार्यशालामा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापित, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, आयोग सदस्य श्याम बस्नेत, प्रदेशसभा सदस्यहरु, प्रमुख सचिव आनन्दराज ढकाल, मन्त्रालयका सचिवहरु, महाशाखा तथा शाखा प्रमुखहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।

कार्यक्रममा प्रदेश विकासकोे विषय क्षेत्रगत् अबस्थाको विश्लेषणसहित प्रस्तुति गरिएको आयोग निमित्त सचिव आत्मराम सत्यालले जानकारी दिनुभयो । कार्यशालामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा पिताम्बर शर्मा, नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराई, राष्ट्रिय योजना आयोग पूर्वसदस्य डा.गोबिन्द नेपाल, डा. दिनेश भुजु, जगन्नाथ अधिकारी, शोभा लामा, परशुराम उपाध्यायले विषय क्षेत्रगत् प्रस्तुति तथा कार्यशालामा सहजीकरण गर्नुभएको थियो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता तथा नीति तथा योजना आयोग उपाध्यक्ष डा. देबकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्