एन्फा लिग आयोजना गर्न तयार



नेपाल समाचारपत्र, काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) ले झण्डै ४ वर्षपछि शुरु हुन लागेको शहिद स्मारक ए डिभिजन लिग प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको तयारी पुरा भएको र पहिलो चरणको खेल दशँैं अगाडि समाप्त गर्ने जानकारी गरायो । १४ ए डिभिजन क्लबले पुस ३० गतेसम्म खेल्ने सो लिगको उदघाटन शनिबार हुनेछ । पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना न्युरोड टिम (एनआरटी) सँग हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उदघाटन खेलमा दक्षिण एसियाका लागि फिफाका डेभलोपमेन्ट मेनेजर प्रिन्स रुफुसको उपस्थित हुनेछ ।

लिग संचालन आएको ३ दिनपछि नै केही दिनका लागि लिग स्थगित हुनेछ । असोज १५ गते संकटा क्लब र सरस्वती युवा क्लबबीचको खेलपछि लिग स्थगित हुने एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । उनले भने—बंगबन्धु गोल्डकप खेल्न नेपाली टोली बंगलादेसतिर जाँदैछ । सो प्रतियोगितामा नेपालको खेल हुन्जेल लिग हुने छैन । राष्ट्रिय टोली फर्केपछि शेड्युलअनुसार पुन लिग संचालनमा आउनेछ । यसैले हामीले असोज २० गतेसम्म पर्खनै पर्छ ।

उनले थपे—यस पटक पहिले जस्तो लिगमा खेलहरु लगातार हुने छैन । एक टोलीले सातामा कमसेकम २ खेल खेलोस भन्ने हाम्रो योजना रहेको छ।
लिगमा सहभागि हुने टोलीहरु यसप्रकारका छन्— थ्रीस्टार क्लब, मनाङ मस्र्याङदी क्लब, फ्रेन्ड्स क्लब, संकटा क्लब, एनआरटी, ब्रिगेड ब्वाइज, हिमालयन शेर्पा, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, च्यासल युथ क्लब र सरस्वती युथ क्लब।

यी मध्ये लिग विजेता हुने टोलीले ५० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टोलीले ३५ लाख हासिल गर्दा तेस्रोले २५ लाख रुपियाँ पाउनेछ । यसैगरी चौथोदेखि छैठो स्थानमा रहने टोलीले क्रमशः १५, ७ र ५ लाख नगद हात पार्नेछन् । पछिल्लो पटक २०७० मा ए डिभिजन लिग सम्पन्न हुँदा मनाङ मस्र्याङदी विजेता बनेको थियो । टोलीले त्यतिबेला ७५ लाख नगद प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्