एल क्लासिको’ टोली पराजित



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाको ’एल क्लासिको’ टोलीहरु रियल मेड्रिड र बार्सिलोनाले एकै दिन हारको स्वाद चाखेका छन् ।

जारी सिजन सुरु भएयता अंक तालिकाका शिर्ष दुई स्थानमाथि आलोपालो गरिरहेका दुई टोलीको अपराजित यात्रालाई सेभिया र लेगान्सले पूर्णविराम लगाएका हुन् । गत सिजनको लिगमा बार्सिलोना एक खेलमा मात्र पराजित भएको थियो ।

बुधबार भने लिगको छैटौं खेलमा नै बार्सिलोनाले हार बेहो¥यो । लेगान्सको मैदानमा अग्रता लिएपनि बार्सिलोना अन्ततः २–१ ले पराजित भयो । पहिलो हाफमा फिलिपे कौटिन्होको गोलमा अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा ६८ सेकेण्डमा लगातार दुई गोल बेहोर्दै हारलाई आत्मसात गर्न बाध्य बनेको थियो । पुछारमा रहेको लेगान्सका लागि नबिल एल जाहार र ओस्कार रोड्रीग्वेजले गोल गरेका थिए । लेगान्सको यो खेल अगाडि ५ खेलमा १ अंक मात्र रहेको थियो ।

यता रियल मेड्रिडले पनि सेभियासँग ३–० ले पराजित हुँदै शीर्षमा उक्लिने मौका गुमाएको थियो । खराब प्रदर्शन गरेको टोलीले पहिलो हाफमा नै तीन गोल खाएको थियो । आन्द्रे सिल्भाले दुई तथा विसाम बेन येडरले एक गोल गरेपछि घरेलु टोली सेभियाले जित दर्ता गरेको थियो ।

स्पेनिस ला लिगामा एकै दिन दुई उत्कृष्ट टोलीको अपराजित यात्रा टुङ्गिएको यो दुर्लभ नतिजा हो । पछिल्लो पटक सन् २०१५ को जनवरीमा रियल र बार्सिलोना हारेका थिए । छैटौं खेलमा हार व्यहोरेपनि दुवै टोली समान १३ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायम नै छन् ।

प्रतिक्रिया दिनुहोस्