बलियो सरकारको कमजोर शाासन



वर्तमान सरकार दुई तिहाइको समर्थन प्राप्त सरकार हो । त्यसैले यो सरकारलाई बलियो सरकारका रुपमा हेर्ने गरिएको छ । दुई तिहाइको समर्थन प्राप्त सरकारलाई मुलुकको शासन व्यवस्था दिगो र भरपर्दो तरिकाबाट सञ्चालन गर्नका लागि कुनै रोकावट हुँदैन भन्ने गरिन्छ ।

त्यसैले दुई तिहाइको शक्तिको आडमा सरकारबाट असीमित अधिकारको दुरुपयोग नहोला भन्न सकिन्न । देशमा हत्या, हिंसा र बलात्कारजस्ता आपराधिक गतिविधि बढिरहेका छन् । दैनिक अखबारका पानाहरु यस्तै घटनाका समाचारले भरिएका छन् । अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउनका लागि राज्यको तत्परता देखिँदैन ।

निर्मला हत्याकाण्डका दोषीहरु अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् भने ३३ किलो सुनकाण्डका आरोपितहरु क्रमशः छोडिँदै छन् । अदालतले दोषी ठह¥याएका व्यक्तिलाई समेत राजनीतिक आवरणले ढाकेर छुटकारा दिइन्छ ।

सरकारका गतिविधिहरु नागरिकले अपेक्षा गरेअनुरुप हुन सकेका छैनन् । यता सरकारका ऐन–कानुन र नियमहरुलाई निस्प्रभावी बनाउने प्रकारका गतिविधि विभिन्न दबाब समूहले गर्दै आएका छन् । त्यो दबाब समूहमा अप्रत्यक्षरुपमा सरकारमा रहने व्यक्तित्वहरु नै नहोलान् भन्न सकिन्न । चाहे त्यो यातायातमा भएको सिन्डिकेट हटाउने निर्णय होस् अथवा तरकारी बजारमा बिचौलियाको सिन्डिकेटविरुद्ध गरिएका निर्णयहरु हुन् ।

सरकारका हरेक निर्णय कार्यान्वयन हुन सकेको देखिँदैन । यतिखेर दुई तिहाइको सरकारभन्दा यातायात व्यवसायी शक्तिशाली भएको महसुस भएको छ । यातायात व्यवसायीले दशैँमा काठमाडौंबाहिर जाने यात्रीका लागि गरिने टिकट बुकिङ बन्द गर्ने चेतावनी दिनासाथ सरकार दशैँको मुखमा आएर १० प्रतिशत गाडीभाडा बढाउन बाध्य भयो । उता सरकारले सिन्टिकेट तोड्ने निर्णय गरे पनि यातायातमा सिन्डिकेट यथावत् छ ।

त्यस्तै यहाँ ठेक्का लिने तर काम नगर्ने र गरे पनि गुणस्तरहीन काम गर्ने ठेकेदारले नै ठेक्का पाइरहेका छन् । दबाब र प्रलोभनमा परेर अस्पतालमा समेत पोस्टमार्टमका रिपोर्ट गलत लेखिन्छन् । राजनीतिक आड र पैसाले जस्तोसुकै अपराधबाट पनि मुक्ति पाउन सकिन्छ भन्ने मानसिकता बढिरहेको छ । सरकारका हरेक काम कार्यवाही हेर्दा लाग्छ, सरकार बलियो छ तर शासन कमजोर छ ।

सरकारले गर्ने काम कार्यवाही जनताको हितमा फलदायी हुने र जनताले स्वीकार गर्ने खालको हुनुपर्छ । सरकारबाट इमानदारिताका साथ संविधानको मर्मअनुरुप जनताको हित हुने किसिमले काम गर्न सकेन वा गरेन भने मुलुकको शासन व्यवस्था नै कमजोर हुन पुग्छ । शासन व्यवस्था कमजोर हुनु भनेको राज्य र राज्यका जनता कमजोर हुनु हो ।

त्यसैले सरकार बलियो भएर मात्र हुँदैन, सरकारले राज्य र जनतालाई पनि बलियो बनाउन सक्नुपर्छ । जनताका अधिकार सुरक्षित र सुनिश्चित बनाउनुपर्छ । यसका लागि सरकारले कुनै पनि आपराधिक क्रियाकलापलाई राजनीतिक आवरणले छोप्ने काम बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्