सशस्त्रद्वारा डेढ क्वीन्टल ब्रोइलर कुखुरा बरामद



सीताराम चौधरी, कपिलवस्तु ।
भन्सार छली अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सीमा नाकाबाट झण्डै डेढ क्विन्टल ब्रोइलर कुखुरा बरामद गरेको छ ।
विशेष चेकजाँचका क्रममा कृष्णनगर नम्बर ३९ भन्सार गुल्मले कृष्णनगर नगरपालिका १२, बेदमउबाट बरामद गरेको हो । सशस्त्रलाई देखेर तस्कर फरार भएपछि बेवारिसे अवस्थाबाट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज कुमार धितालले जानकारी दिनुभयो । बरामद गरिएको कुखुरा नेपाली बजार मूल्य झण्डै ५० हजार रुपैयाँ पर्ने गुल्मपति धितालले बताउनुभयो ।

बरामद गरिएका ब्रोइलर कुखुरा पशु क्वारेन्टाइन प्रतिनिधि, नगरपालिका प्रतिनिधि, स्थानीय बुद्धिजिवी, मानवअधिकारकर्मी लगायतको रोहबरमा खाल्डो खनी नष्ट गरिएको धितालले जनाउनुभएको छ । ब्रोइलर, कोइलर जस्ता पंक्षीजन्य वस्तुबाट वर्डफ्लू, स्वायनफ्लू जस्ता प्राणघातक रोगहरु फैलिने हुँदा नेपाल सरकारले आयातमा रोक लगाएको छ । भारतमा पंक्षीजन्य वस्तु नेपालभन्दा निकै सस्तो मूल्यमा पाइने हुँदा तस्करी बढेसँगै पछिल्लो समय प्रहरी प्रशासनले सीमाक्षेत्रमा निगरानी बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्