म्याग्दीमा चाडपर्वलाई लक्षित गरेर प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना



प्रताप बानियाँ, म्याग्दी ।
नजिकिँदै गरेको नेपालीहरुको महान पर्व बडादशैं र शुभदिपावलीलाई लक्षित गरेर म्याग्दीमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा हिमाली जिल्ला मुस्ताङको भ्रमणमा निस्कने सर्वसाधारण, पर्यटकको यात्रालाई सहज बनाउन प्रहरीद्वारा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको पहलमा सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा ट्राफिक कार्यालय अगाडि यात्रु सहायता कक्ष स्थापना गरिएको छ । आउँदो तिहार पछिसम्म सञ्चालन हुने यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा सर्वसाधारण, यात्रुले भोग्नुपरेका समस्या तथा कठिनाइका विषयमा सहजीकरण गरिने म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो ।

चाडपर्व र विदाको समयमा आफन्तकोमा जाने तथा विदा मनाउन निस्कने यात्रुलाई पर्नसक्ने सम्भावित समस्याको समाधानका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । दशैं तिहारमा यात्रुको चाप बढी हुनेहुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता घटनालाई रोक्न यात्रु सहायकता कक्ष स्थापना गरिएको प्रनाउ बुढामगरले जानकारी दिनुभयो । यसैगरी यातायात व्यवसायीमाथि हुनसक्ने दुव्र्यवहार, सवारी तोडफोडबाट हुने क्षतिलाई रोक्न पनि यात्रु सहायता कक्ष स्थापना गरिएको बताइएको छ ।

त्यस्तै ट्राफिक तथा यातायातसम्बन्धी सूचना एवं जानकारी लिनेदिने, चाडपर्वका नाममा हुने बिकृति र अपराधको न्युनीकरणमा समेत यात्रु सहायता कक्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ । खासगरी सर्वसाधारण तथा यात्रुको गुनासो व्यवस्थापन गर्ने उद्देश्यसहित यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो । यात्रु सहायता कक्षमा प्रहरी, यातायात व्यवसायी र होटल तथा पर्यटन व्यवसायीका एकएक जना प्रतिनिधिहरुको उपस्थितिमा यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रनाउ बुढामगरको भनाइ छ । यात्रु सहायकता कक्षमार्फत यात्रुलाई होटल तथा यातायात व्यवस्थापनका लागि पनि सहयोग गरिने भएको छ ।

यात्रु सहायकता कक्षको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उद्घाटन गर्नुभएको थियो । दशैं तिहारको समयमा बेनी–जोमसोम सडक भएर दैनिक हजारौं तीर्थयात्री तथा पर्यटकहरु मुस्ताङ र मुक्तिनाथ दर्शन एवं भ्रमणमा निस्कने गर्दछन् । हाल बेनी–जोमसोम सडकमा दिनहुँजसो ठूलासाना गरी ६ सयबढी सवारीसाधनहरु गुड्ने गरेका छन् । ७६ किलोमिटरको बेनी–जोमसोम सडकमा दिनहुँ बस, जिप, स्कारपिओ, बोलेरो, ट्रक, ट्याक्सी, मोटरसाईकल र ट्याक्टर गुड्दै आएका छन् ।

यात्राका क्रममा परेका समस्याको जानकारी गराउन म्याग्दी प्रहरीमा निःशुल्क टेलिफोन नं १०० तथा ०६९–५२०१९९ मा फोन गर्न सकिने व्यवस्था रहेको छ । नेपाल प्रहरीले विभिन्न समयमा लागूऔषध दुव्र्यसनी न्युनीकरण, ट्राफिक जनचेतना, टोलटोलमा प्रहरी, प्रहरीसँग आमा कार्यक्रम, मुस्कानसहितको प्रहरी सेवा, नागरिक सुनुवाई जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्